arrow

निर्वाचनमा मतदाताको भूमिका

logo
नम्रता बराल,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
namuna-matadan.jpg

वातावरण चिसो भएता पनि चुनावी सरगर्मी ह्वातै बढेको छ । देश संघीयतामा प्रवेश गरेसँगै स्थानीय निर्वाचन पछिको यो निर्वाचन विगतमा हामीले भोगेका भन्दा भिन्न प्रकृतिको छ किनकी यसले हामी सारा नेपालीको चाहना लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्ने छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा दुई तहको निर्वाचनले नेपालीको हक अधिकारको सुनिश्चितता गर्नेछ । संबिधान कार्यान्वयन गर्नको लागि पनि यो निर्वाचन महत्वपूर्ण रहेको छ । मंसिर २१ गते हुन गैरहेको दोश्रो चरणको निर्वाचनमा प्रतिनिधि सभाका लागि ५ सय २२ जानाको उम्मेदबारी परेको छ जबकी जम्मा सिट सख्या १ सय ५८ रहेको छ । 

प्रदेश सभातर्फ २ सय ५६ सदस्यका लागि ८ सय ८३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्याङ्क अनुसार देखिन्छ । ( यो तथ्थाकमा उम्मेदवारी फिर्ता पछि सामान्य परिवर्तन हुन सक्नेछ ) यो नतिजाले के दर्साउँछ भने अहिलेको अवस्थामा धेरै ठूलो प्रतिशतमा प्रत्यासीहरु उम्मेदवारी दिएर राजनीतिमा आफुलाई स्थापित गर्न उत्साहित रहेका देखिन्छन । 

निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने भनेको नै मतदाताले हो । त्यसैले पनि निर्वाचनमा मतदाताको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रत्येक मतदाता आफैमा निर्णायक हुने भएकोले आफुले दिएको मत कहाँ जादै छ त्यो केलाउनु बिश्लेषण गर्नु र कसलाई मतदान गर्दै छु त्यसप्रति सजग हुनु पर्ने हुन्छ ।
     
उम्मेदवारले आफ्नो पक्षमा नजिता पार्नको लागि विभिन्न खालका प्रपोगण्डा, प्रलोभन, ठूला ठूला सपनाहरु देखाएका हुन्छन् । रोचक भाषण र तामझाम गरेर मतदातालाई आफ्नो पक्षमा पार्न चाहन्छन् तर त्यतिबेला मतदाताले सजग रही सही निर्णय लिन सक्नु पर्छ ताकि भाषणमा सीमित रहने र निर्वाचन पछि जनताका आधारभूत आवश्यकतासम्म पनि पूरा नगर्ने खालका उम्मेदवारलाई पाखा लगाउन सकियोस । 

आजको समयमा कतिपय मतदाता निर्वाचनप्रति नै उदासिन छन् । कतिपय मतदाता निर्वाचनमा को उठदै छ ? कुन उम्मेदवार कुन पार्टीबाट मैदानमा भिडदै छ ? त्यस्तो सामान्य जानकारी पनि नभएका हुन्छन भने कतिपय मतदातालाई कुन पार्टीलाई मत दिँदा भविष्यमा त्यसले कस्तो प्रभाव पार्छ भन्नेबाट पनि अनभिज्ञ देखिन्छन् । 

कतिपय मतदाता ब्यक्ति हेरेर प्रभावित हुने पनि छन् । यसरी समग्रमा हेर्दा राजनीतिक चेतना भएका मतदाताको अनुपात भन्दा बाहिरी मतदाता सख्या बढी देखिन्छ । निर्वाचनमा मतदाताले सही निर्णय लिन नसक्दा नतिजा विपरित आउन सक्ने हुनाले पनि मतदाताहरुलाई मतदान शिक्षा दिनु अपरिहार्य देखिन्छ । 

माथि यति धेरै चर्चा गरिसके पछि अब लागौँ मतदातालाई उम्मेदवार छनोट गर्न सहज हुने केही सामान्य जानकारी तर्फ ।

आर्थिक अवस्था :  राजनीति गर्ने ब्यक्तिको आर्थिक अवस्था राम्रो हुनु आबश्यक छ ता कि उसले आफु निर्वाचित भएर गए पछि जनताको काम गर्न सकोस् । आफ्नो घर परिवारको लागि धन आर्जन गर्ने चिन्ता नपरोस् र आफुलाई पूर्ण रुपमा समर्पित हुने अवसर प्राप्त होस् । यदि त्यस्तो भयो भने देशमा भष्ट्राचार हुन पाउँदैन । जोसँग आफ्नो लागि पुग्ने सम्पती छ उसलाई थप धन आर्जन गर्नुपर्ने आवश्यकता रहदैन् , त्यो हुनाले मतदाताले त्यस्तो ब्यक्तिलाई उम्मेदवार छनोट गर्नुहोस् जस्ले केवल राजनीति, समाज सेवा गर्नको लागि गरेको होस् । केही योगदान पुर्‍याउनको लागि गरेको होस् र देश र जनताको लागि गरेको होस । ता कि राजनीति व्यक्तिको मागी खाने भाँडा नबनोस् । 

स्वभाव र चरित्र :  जुन ब्यक्तिको स्वभाव नै सेवा गर्ने भन्ने छ त्यस्तो उम्मेदवार छनोट गर्नुहोस् ता कि उसलाई अन्य कुराले प्रभाव नै पार्न सक्दैन । जुन ब्यक्तिको इच्छा नै देश र जनताको हितमा काम गर्ने हुन्छ उसले राजनीतिमा लागेर राम्रो योगदान दिन सक्छ । त्यस्ता ब्यक्तिलाई प्राथमिकताको आधारमा चुन्नुहोस् । जो सँग सम्पती नहोला उसँग विवेक जुनुन हुन्छ । उसले अरु कुरा सोच्न नै सक्दैन केवल एउटा मात्र दृष्टि राजनीति लिएर अगाडि बढेको छ भने ती उम्मेदवार पनि समाजको लागि योग्य हुन्छन् । साथै उम्मेदवार छनोट गर्दा उसको चरित्र कस्तो छ त्यो हेर्नु पर्छ । खराब आचरणको ब्यक्तिबाट राम्रो कामको आशा राख्न सकिदैन् । त्यसैले पनि उसको विगत र वर्तमान हेरेर आफ्नो धारणा बनाउनु पर्छ ।

पारिवारिक अवस्था :  जसले राजनीतिको लागि आफ्नो जीवन नै त्यसमा समर्पण गरेका छन् त्यस्तो ब्यक्तिलाई चुन्नुहोस् । जोसँग योग्यता. क्षमता छ जस्लाई पारिवारिक कुनै बन्धन रहँदैन । उनीहरु केवल समाजको निम्ती दूत बनेर आएका छन् जसले आफ्नो निजी सम्पती पनि विकासमा लगाउन सक्छन् । समाज रुपान्तरण गर्न सक्छन् । जसमा साधुता छ त्यस्ता व्यक्तिलाई उम्मेदवारको रुपमा चयन गर्नुहोस् । विश्वमा त्यस्ता ब्यक्ति पनि भेटिन्छन्–जस्ले आफ्नो सारा कुरा अर्पण गरेर समाज बदल्न चाहे, बदले तर आफ्नो लागि केही लिएनन् । खालि हात गए, उदाहरणको लागि नेपालमा “कृष्णप्रसाद भट्टराई ” लिन सकिन्छ । त्यसैले मतदातले आफ्नो रोजाइमा त्यस्ता ब्यक्तीलाई पार्नुहोस्– जस्ले आफ्नो निजी स्वार्थको लागि भष्ट्राचार गर्दैनन र विकास नै लक्ष्य हो भनेर समाजको परिवर्तन चाहेका हुन्छन् ।

उम्मेदवार हुने ब्यक्ति :  मतदाताले मत दिने ब्यक्तिको बारेमा राम्ररी बुझेर सही निर्णय गर्नु पर्ने हुन्छ । उम्मेदवार कत्तिको जिम्मेवार छ, उसले बिगतमा समाजमा कस्तो प्रभाब पारेको छ । सामाजिक ब्यक्तित्व हो वा होइन आफ्ना वचनहरुप्रति प्रतिबद्ध छ वा छैन त्यो जानकारी हासिल गरेर उम्मेद्वारप्रति आफ्नो धारणा बनाउनु पर्छ । उम्मेदवार पुनः निर्वाचनमा उम्मेदवार बनेका छन् भने उनले पहिलाको निर्वाचन पछि आफुले बोलेका कुरा कत्तिको पुरा गरे त्यो हेर्नुपर्छ । आफ्नो क्षेत्रमा विकासका ठूला तथा साना के कति योजना पार्न सफल बने त्यो तर्फ ध्यान दिनुपर्छ । पर्यटन, शिक्षा, स्वास्थ, रोजगारी, कृषि, उद्योग के कस्ता क्षेत्रमा उनले योगदान दिए त्यो केलाउनु पर्छ । यदि प्रत्यासी बनेका उम्मेदवारले समाजको लागि केही विकासका काम गर्न सकेका छैनन् भने यो पटक पुन उही उम्मेदवारलाई दोहो-याउन हुँदैन । किनकी ५ वर्षको कार्यकालमा धेरै कुरा गर्न सकिन्छ जुन उनले गरेनन् । त्यसैले यो पटक उक्त उम्मेदवार योग्य हुँदैन र नयाँ उम्मेदवारलाई चयन गरी अवसर दिनु राम्रो मनिन्छ ।

नीतिहरुमा सबैभन्दा उत्तम नीति भनेर राजनीतिलाई भनिन्छ – राजनीतिले नै देश कुन बाटोमा डो-याउने भन्ने कुराको निर्क्यौल गर्दछ। नयाँ नेपालका निर्माता भनेका जनप्रतिनिधिहरु नै हुन् यस अर्थले पनि निर्वाचनमा मतदाताको निर्णायक भूमिका महत्वपूर्ण रहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ