बाँदरमुढे पिडितले फेसबुक हेरेर थाहा पाए प्रचण्डसँगको सहमति, पिडित रुष्ट
प्रचण्डको व्यवहारबाट बाँदरमुढेका पीडितहरु चकित
प्रकाशित २०७४ मंसिर १८ सोमबार
456
Shares
माडी(चितवन)। चुनावको मुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले बाँदरमुढे घटनाका पीडितलाई फेरि झुक्याएको खुलासा भएको छ ।
उनले बाँदरमुढे घटना पीडित संघर्ष समितिसँग कुनै छलफलै नगरी तीनबुँदे समझदारी भएको सूचना सार्वजनिक गराएपछि उनले बाँदरमुढे घटनाका पीडितलाई फेरि झुक्याएको खुलासा भएको हो।
समितिले घटनालाई अतिरिञ्जित पार्न खाजेको आरोप लगाएको छ ।
समितिलाई तीनबुँदे समझदारीबारे जानकारीसमेत नदिइएको तथा समझदारी गर्ने व्यक्ति घटनाका पीडित सम्मिलित संघर्ष समिति बाहिरका रहेको समितिका पदाधिकारीहरुको भनाई छ।
माओवादीले लगातार घटना दबाउन खोजेको बताउँदै बाँदरमुढे संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, ‘चुनावको मुखमा फेरि तीनबुँदे समझदारी गराएर घटनालाई मत्थर पार्ने प्रयास भएको छ ।’
अध्यक्ष न्यौपानेले भने,‘मैले १२ वर्ष संघर्ष गर्दै आएँ । समितिको अध्यक्षलाई नै जानकारी नदिई कसलाई लिएर वार्ता गरे ? यो वार्ता सार्थक छैन, ढाँट, छल गरेर मतदाता ढाँट्ने प्रयासमात्र हो ।’
आफूले सहमति भएको भनेर एकैपटक फेसबुकमा देखेर थाहा पाएको उनले बताए । म अध्यक्ष हुँ । मलाई जानकारी हुनुपर्दथ्यो । तर छलफलमै ल्याइएन । यो सहमति हुनै सक्दैन । मेरो आपत्ति छ । यसमा म खेद प्रकट गर्दछु ।’
अध्यक्ष न्यौपानेले थपे ‘म आफू पनि वार्तामा बस्न चाहिरहेको थिएँ । पीडितको कुरा राख्न चाहन्थेँ । तर, यो नियोजित रुपमा पीडितहरुलाई नै भजाउन र विभाजित गर्नका लागि हो ।’
२०६२ साल जेठ २३ गते यात्रुवाहक बसलाई लक्षित गरी तत्कालीन नेकपा माओवादीले माडी बाँदरमुढेमा बम विष्फोट गराउँदा ३९ जनाले ज्यान गुमाएका थिए । ७२जना घाइते भएका थिए । घटनामा ज्यान गुमाउनेमा २२ जना माडीकै थिए । यस्तै घाइतेमध्ये पनि अधिकांश माडीकै वासिन्दा थिए ।
प्रचण्डको छलछाम
घटनालगत्तै बनेको पीडित समितिसँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’ले नयाँ जुक्ति अपनाएको बताइएको छ । उनले एमाले र तत्कालीन जनमोर्चा समर्थक पीडितलाई लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न लगाए ।
बाँदरमुढे घटनाका पीडितका ५ जनासँग तीन बुँदे लिखित प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्। पाँचै जना समितिको कार्य समितिमा छैनन् ।
सहमतिमा घटनामा ज्यान गुमाएका परिवारलाई रोजगारीको व्यवस्था गर्ने, घाइतेहरुको औषधि उपचार गर्ने तथा रोजगारीको व्यवस्था गर्ने र घटनास्थल बाँदरमुढेमा दश विघामा स्मारक संग्रहालय र चिडिया घर निर्माण गर्ने उल्लेख छ ।
‘दुइ चार जनासँग मिलेर सहमति गर्नुभयो रे भन्ने सुनेको छु’, बाँदरमुढे घटनापीडित समितिका अध्यक्ष न्यौपानेले भने,‘चुनावको मुखमा कोसँग केसहमति गर्नुभयो त्यो उहाँलाई थाहा होला, समिति यसबारे बेखबर छ।’
उनले माओवादी केन्द्रले घटनाका पीडित समितिसँग बसेर परामर्श नगरी सहमति गरिएको हल्ला गरिएको आरोप लगाए । ‘पीडित धेरै छौँ, समिति बनेको छ तर हाल सहमति गर्न पुग्नेहरुले हामी सबैको प्रतिनिधित्व गर्नुहुन्न’ उनले भने ।
समितिको अध्यक्षमा मुक्तिनाथ न्यौपाने, उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा भानु आचार्य, कोषाध्यक्षमा यमनाथ सुवेदी छन् । यस्तै सदस्यहरुमा लक्ष्मीकान्त घिमिरे, राधेश्याम भण्डारी, लक्ष्मी श्रेष्ठ, रोशन श्रेष्ठ, दुर्गामाया मगर छन् । तर, समितिमा रहेर न्याय र अधिकारको पक्षमा वकालत गरेका व्यक्तिलाई नै माओवादी केन्द्रका अध्यक्षले बिर्सेको आरोप अध्यक्ष न्यौपानेको छ ।
‘तीनबुँदे सहमति भनेर मिडियाबाजी भएको छ’, बाँदरमुढे घटनापीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, ‘हामीलाई योबारे केही थाहै छैन, कताबाट के सहमति भएछ ?”
यसअघि पनि प्रचण्डले माडी महोत्सवको उद्घाटन गर्दै ०६९ सालमा ६० लाख राहत प्याकेज घोषणा गरे पनि पीडितले सो राहत अस्वीकार गरेका थिए । तर, चुनावको दौरानमा माडीमै पुगेका प्रचण्डले पीडितहरुको संघर्ष समितिसँग छलफल र परामर्श गर्ने कामसम्म गर्नुभएको थिएन ।