arrow

मंसिरको चिसो मौसममा चुनावी राप ताप्दै कञ्चनपुरबासी

मध्य मंसिरको चिसोले कञ्चनपुरबासीलार्इ अगेनामा सीमित गराउन सकेन

logo
र्इश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
kanchanpur_photo.jpg

कञ्चनपुर। यही समय अरु अरु वर्ष हुन्थ्यो भने साँझ पर्न नभ्याउँदै घरजान हतारिने कञ्चनपुरबासीहरुमा अहिले रात परेको पनि पत्तो हुन छाडेको छ । यो वर्ष जाडो अघिल्लो वर्षको यही समयमा भन्दा निकै बढी रहेको अनुभव पनि धेरैले गर्ने गरेका छन् । तर, के राजनीतिक दलका नेता, के कार्यकर्ता, सरकारी जागिरेदेखि पत्रकार, कानून व्यवसायी हुँदै मजदूरहरुसम्मलार्इ पनि अहिले रात परेको पत्तो हुन छाडेको छ। 

अरु समय थियो भने साँझ ७ बजेसम्म आ आफ्नो विस्तारामा पुगिसक्नेहरुको पनि अहिले दैनिकी फेरिएको छ । अगेनामा आगो ताप्नेहरुको दैनिकी फेरिएको छ भने घरधन्दा गर्नेहरुको पनि दैनिकी फेरिएको छ । यो सबै मानिसको दैनिकी अरु कुनै कारणले फेरिएको नभर्इ नेपालमा ऐतिहासिक रुपमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोलको कारण प्रमुख हो । 

अहिले म‌‌ंसिरको रातमा परेको शीतलहर र विहानीको सूर्योदय पूर्व आउँनै चिसो वातावरण विर्सिएर चुनाव सफल बनाउन होमिएका छन् कञ्चनपुरबासी पनि । देशभर फैलिएको चुनावी लहर कञ्चनपुरका पनि विभिन्न पेशामा स‌ंलग्नहरुसँगै आम सर्व साधारणमा समेत चुलिएको छ । चुनावी सरगर्मीका अगाडि मध्य मंसिरको  चिसो वातावरणले पनि कञ्चनपुरबासीहरुलार्इ अगेनामा सीमित गराउन सकेन । मंसिरको चिसोलार्इ चुनावी चहलपहलको रापमा सेकाएर चुनाव सफल बनाउन दिलो ज्यान दिएर लागेका छन् कञ्चनपुरका मतदाताहरु पनि । 

यो चुनावलार्इ मुलुकको काँचुली बदल्ने चुनावको रुपमा लिर्इएको छ । इतिहास रच्ने चुनावको रुपमा लिर्इएको छ भने हामी अब फेरि पनि गरिब देशको नागरिक बन्ने कि समृद्ध देशको भनेर जनताले रोज्ने चुनावको रुपमा लिर्इएको छ । नेपालमा लोकतन्त्रको रक्षा र परिवर्तनलार्इ स्थापित गराउने महत्वपूर्ण चरणको रुपमा पनि यो चुनावलार्इ लिर्इएको छ । 

कञ्चनपुरमा अहिले यस्तो ठाउँ नभेटिएला जहाँ राजनीति र चुनावको विषयमा चर्चा नभएको होस् । विहानै पारिलो घामको किरणसँगै चिया खान चिया पसल पुग्ने जो कोही पनि उम्मेदवारहरुको राम्रा र नराम्रा पक्षको बारेमा चर्चा गरिहाल्छन् । कसले चुनाव जित्छ ? र को कति मतले पराजीत हुन्छ भनेर चुनावको पूर्व समीक्षा गर्नेहरुको पनि चियापसलमा कमि देखिँदैन ।

यो चुनाव यसकारण पनि महत्वपूर्ण छ कि एकातिर आफूलार्इ लोकतन्त्रको एकमात्र शक्तिमान्ने लोकतान्त्रिक गठबन्धन र साम्यवादी व्यवस्था वा कम्युनिष्ट शासन ल्याउने सोच राखेको कम्युनिष्ट गठबन्धनका यी चुनावी मुद्दामध्ये कुन् मुद्दा स्थापित हुन्छ भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।  यही लोकतान्त्रिक र कम्युनिष्ट एजेण्डाको छाता मुनी बसेर बहस गर्नका लागि मतदाताहरु आफ्नो खेतीपातीको कामलाई समेत थाती राखेर चुनावमा होमिएका छन् । जसले गर्दा तराईको वातावरण चिसिए पनि मतदाताको मन चिसिएको छैन ।

सधैं टन्टलापुर घाम लाग्ने महेन्द्रनगरमा एक्कासी चिसोपना बढेपनि चुनावी प्रचारप्रसार भने चिसिएको छैन । बरु चुनावी सरगर्मी झनझन तातेको देखिन्छ । वातावरण चिसो भए तापनि चुनावी सरगर्मी ह्वातै बढेको छ । कारण प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आउँन २ दिन मात्रै बाँकी रहँदा सोमबार रातीदेखि मौन अवधि शुरु हुनेभएपछि मतदाता फकाउन सबै दललाई हम्मेहम्मे परेको छ । 

नेपाली काँग्रेस भीमदत्त नगरपालिका नगर सभापति पदम अवस्थीले चुनावी प्रचारप्रसारको अन्तिम दिन भएकाले पनि आफूहरु बढी कसरतमा लागेको बताए ।  ‘आज प्रचार गर्ने अन्तिम दिन हो, भोलिदेखि मौन अवधि शुरु हुन्छ’, उनले भने, ‘आज राती १२ बज्नु भन्दा अघिसम्म चुनावी भेटघाटमा जुट्छौँ ।’ साथै काँग्रेसले सम्पूर्ण उमेदवारहरु खाना समेत नखाएर सम्पूर्ण मतदातालाई भेट्नमा व्यस्त रहेको बताए । कञ्चनपुर  निर्वाचन क्षेत्र नं. ३ का  विभिन्न बस्तीमा जनतासँग भेटघाट गर्दै भोट मागिरहेको  उनले बताए ।

यसैगरी, कञ्चनपुरको दक्षिणी क्षेत्रमा पनि चुनावी रौनक सेलाएको छैन ।  कञ्चनपुरमा वामका संयक्त  र काँग्रेसका उम्मेदवार विच प्रतिनिधी र प्रदेश दुवै सभा तर्फका  उमेदवार चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्  । निर्वाचन क्षेत्र नम्बर १ मा वामका उम्मेदवार विना मगर र काँग्रेसका उम्मेदवार दिवान सिह विष्ट विच प्रतिस्पर्धा हुने देखिए पछि दुवै पार्टी प्रतिष्पर्धात्मक रुपमा चुनावी प्रचारप्रसार गर्दै छन् । 

निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार यस जिल्लामा १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष गरी कुल कञ्चनपुरमा जम्मा २ लाख, ६४हजार ९७५ मतदाता छन् । यी सबै मतदाता रिझाउन दलहरु अन्तिम  कसरतमा लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ