arrow

दाङबाट काँग्रेस उम्मेदवार चाैधरी भन्छन्-'५ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ’(कुराकानी)

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
dilli_chaudhari.JPG

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा उम्मेदवार बनेका डिल्लीबहादुर चौधरी श्रम राज्यमन्त्री हुन् । केन्द्रीय राजनीतिबाट प्रदेश राजनीतिमा मुख्यमन्त्री बन्नका लागि गएको चौधरीले बताए । झुटो कुरा गर्ने वामपन्थीलाई जनताले मत नदिने र विकासको पूर्वाधार तयार पार्ने नेपाली कांगे्रसले केन्द्र र प्रदेशमा सरकार गठन गर्ने मन्त्री चौधरीले दाबी गरे । चौधरीले भने, ‘नेपाली कांग्रेसले सुरु गरेको विकास निर्माणलाई एमालेले जनतामा भ्रम छरेको छ, तर जनता एमालेको कुरा पत्याउने वाला छैनन् ।’

० चुनावी अभियान कसरी गर्नुभयो ?
– धेरै ठाउँमा हामीले घरदैलो कार्यक्रम गर्न सकेनौं, तर टोल–टोलमा पुगेका छौं । आज प्रचार प्रसारको अन्तिम दिन १५ देखि २० स्थानमा पुग्ने छौं । हामी सम्पूर्ण मतदातालाई भेट्छौं, र रुख चिन्हमा मतदान गर्न आग्रह गछौं ।

० भोट माग्दा जनताको प्रतिक्रिया के पाउनुभयो ?
– मतदाता एकदमै सकरात्मक हुनुहुन्छ, नेपाली कांग्रेसलाई विजयी गराउन मतदाता सकरात्मक छन् । मलाई यहाँका जनताको आर्शिवाद छ । यहाँको विकास निर्माणलाई निरन्तरता दिनु, नयाँ विकास गर्नु । जनताको धेरै ठूलो माग छैन । सडक यातायात, पिउने पानी, सिँचाई, शिक्षा र महिला सिप विकाससम्बन्धी कुरा बढी उठे । मलाई लाग्छ, यी कुरा राज्यले जनतालाई उपलब्ध गराउनै पर्छ ।

० दाङमा कांग्रेसको वर्चश्व गुमेको भन्छन् नि ?
– दाङमा हामी ९ वटै सिट जित्छौं । नेपाली कांग्रेसको संगठन एकदमै बलियो छ । स्थानीय निर्वाचनमा हामीले हाम्रा कार्यकर्तालाई सम्हाल्न सकेनौं, स्थानीय तह गुमायौं, अहिले नेपाली कांगे्रस एक ढिक्का भएर लागेको छ । त्यसैले नेपाली कांग्रेसको जीत सुनिश्चित छ ।
दाङमा नेपाली कांग्रेसले थुप्रै काम गरेको छ । दाङमा मात्रै ४७ वटा पुल बनेका छन् । ती सबै नेपाली कांग्रेसको अगुवाइमा बनेका हुन् । हिजो बाढीले क्षतिग्रस्त हुँदा पनि हामीले नै सहयोग उपलब्ध गराएको हो । अहिले कांग्रेसको यो महोल देखेर सबै अत्तालिएका छन् । पुल, खोला, कुल, बाटो, मन्दिर वा जुनसुकै स्थानमा गयो भने पनि नेपाली कांगे्रस मात्रै देखिन्छ । नेपाली कांग्रेसले गरेको विकास मात्रै देखिन्छ । विपक्षीले खोट लगाउन छोडेका छैनन्, कम्तीमा कांगे्रसले विकासको सुरुवात त गरेको छ । त्यही विकासलाई आधार मानेर दाङ्गाली जनताले नेपाली कांग्रेसलाई जिताउँछन् ।

० तर दाङको विकासमा एमालेले गरेको दाबी गरेको छ नि ?
– शंकर पोखरेल माननीय पनि होइन, अहिले पनि हुनुहुन्न । उहाँले कसरी पुल बनाउनु भयो मलाई थाहा छैन । मन्त्री हुँदा त केही नगर्ने मान्छेले माननीयसमेत नहुँदा केही गर्‍यो भनेर जनताले कसरी विश्वास गर्ने । अरुले गरेको काममा झुटो बोलेर दाबी गर्नुभन्दा आफै केही गर्नु उत्तम हुन्छ ।

० वाम गठबन्धनको दाङमा कस्तो प्रभाव छ ?
– वाम गठबन्धन एउटा हौवा हो, एकजुट भएर नेपाली कांग्रेस आयो भने प्रदेश र केन्द्रमा नेपाली कांग्रेसको सरकार बन्छ । ५ वर्षका लागि भोट माग्नुपर्ने राजनीतिक दलले ५० वर्ष शासन गर्ने भन्दै छन् । के उनीहरुले बन्दुकको शासन ल्याउन खोजेका हुन् ? चुनाव ५० वर्षका लागि हुँदैन ५ वर्षका लागि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ