मेरो जीतसँगै मधेश मुद्दाले वैधानिकता पायो, माग पूरा गराई छाड्छौं– यादव
प्रकाशित २०७४ मंसिर २३ शनिबार
202
Shares
सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जीतपछि पहिलो प्रतिक्रिया दिँदै भनेका छन्,– जन्मभूमिले मलाई माया गरेर विजयी बनाएको छ, यसप्रति म ऋणी छु, जन्मभूमिप्रतिको रिन तिर्नलाई पनि सप्तरीलाई म समृद्ध जिल्ला बनाउँछु ।
शनिबार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसँगै यादवले आफ्नो जीतले मधेशका मुद्दाहरुले वैधानिकता पाएको भन्दै बाकी मागहरुलाई पूरा गराउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘मेरो जीतसँगै मधेशका मुद्दाहरुले वैधानिकता पाएका छन्, ति मागहरुलाई पूरा गराउने जिम्मेबारी मेरो हो’– यादवले भने ।
वाम गठबन्धन र माओवादी केन्द्रका साझा उम्मेदबार उमेश यादव र स्वतन्त्र उम्मेदबार जयप्रकाश ठाकुरलाई यादवले भारी मतले पराजित गर्न सफल भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं. २, बाट प्रतिनिधि सभाका उम्मेदवार यादवले दश हजार एकचालिस मतको भारी अन्तरले वाम गठबन्धनका उम्मेदबार र स्वतन्त्रलाई पराजित गरेका हुन् ।
फोरम नेपालका अध्यक्ष यादवले २१ हजार छ सय २० मत पाएका छन् । वामका उमेश यादवले एघार हजार पाँच सय उनानस्सी र ठाकुरले नौ हजार चार सय उनान्साठी मत ल्याएका छन्।