एउटा सिफारिस, जसले एकाएक सक्रिय बनायो भक्तपुरबासीलार्इ
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
339
Shares
काठमाडौं । पछिल्लो समय भक्तपुरका सक्रिय संस्थाहरु पहिले भन्दा बढी सक्रिय बन्न थालेका छन् । गत मंगलबार सरकारलाई प्रदेश सभा बस्ने ठाउँको प्रस्तावित सूचीमा भक्तपुरको नाम पनि समावेश भएपछि यहाँ प्रदेश राजधानीको लागि लविईङ गर्नेहरुको भीड बढ्न थालेको हो ।
अहिले सरकारले तोक्ने प्रदेश सभा बस्ने ठाउँ अस्थाई राजधानी हो । स्थायी राजधानी त प्रदेश सभाको बैठकले नै तोक्नेछ । यद्यपि अहिले भक्तपुरबासीहरु यही अस्थाई राजधानीको लागि पनि धेरै प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएर प्रत्यक्षतर्फको मतगणना पनि सकिएपछि अहिले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ । सरकारले सम्भवतः बिहीबार नै प्रदेशको राजधानी तोक्ने प्रयास गरिरहेको छ ।
भक्तपुरबासीहरुमा प्रदेश राजधानीको लविईङका लागि त्यति उर्जा मिलेको थिएन । यस अघि उनीहरु त्यति सक्रियताका साथ त्यहाँ राजधानी बनाउन प्रयास गरेका पनि थिएनन् । जति अहिले सक्रिय भएका छन् । तर, एउटा सिफारिस जसले भक्तपुरबासीको सक्रियता चुलाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो। जस अन्तर्गत् कार्यालयले प्रदेश नं ३ को राजधानी भक्तपुर र ललितपुर मध्ये एउटालाई बनाउन सिफारिस गरेको थियो । यस अघि ललितपुरको चर्चा भएको भएपनि भक्तपुरलाई भने राजधानीको रुपमा चर्चा गरिएको थिएन ।
सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास तथा प्रदेश मन्त्रालयको कार्यालय रहने स्थान र ठाउँको पहिचान गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोली खटाएको थियो।
तेह्र जिल्ला रहेको प्रदेश ३ मा प्रतिनिधिसभामा ३३ सिट छ । सबैभन्दा ठूलो प्रादेशिक सांसद पनि यही प्रदेशमा छन् । प्रदेशसभामा ६६ तह रहेकामा वाम गठबन्धनले ५७ स्थान जितेका छन् । नेकपा एमालेले ४२ र नेकपा माओवादी केन्द्रले १५ तह जितेका हुन् । नेपाली काँग्रेसले ७ र नेमकिपा र नयाँ शक्तिले एक÷एक तह जितेका छन् । प्रदेश ३ मा ११० सदस्यीय संसद हुनेछ । समानुपातिकबाट ४४ सांसद चयन हुनेछन् । सरकार गठनका लागि ५६ सांसद चाहिन्छ ।
यतिखेर ३ नं प्रदेशको राजधानी भक्तपुरलाई बनाउन उपयुक्त हुने भन्दै यहाँका सांसददेखि दलका नेतासम्म निकै सक्रिय बनेर लविईङमा जुटेका छन् । प्रदेशको राजधानी तोक्न आवश्यक तयारी, पूर्वाधार र पर्याप्त जमिनको उपलब्धता मात्र हैन तत्कालै प्रदेशसभाको बैठक बस्नदेखि प्रादेशिक मन्त्रालय एवं मन्त्री आवास राख्न समेत सहज हुने ठाउँको खोजी सरकारले गरिरहेको अवस्थामा ३ नं प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने ठहरमा यहाँका नेताहरु पुगेका छन् ।
उनीहरुका अनुसार प्रदेशसभाको बैठकको राख्न मध्यपुरथिमिको बोडेमा रहेको कृषि विकास बैंकको तालीम हलको प्रयोग गर्न सकिने बताएका छन्। यहाँ दुई वटा सुविधा सम्पन्न हल रहेका छन् भने आवासीय सुविधासमेत रहेको बताउने गरेका छन् । यी लगायत धेरै सुविधाहरु देखाउँदै उनीहरु सरोकारवाला निकायमा गएर अस्थायी राजधानी तोक्न माग गर्दै आएका छन् । अहिले अस्थायी राजधानी तोकेको खण्डमा पछि यसैले निरन्तरता पाउने सम्भावना बढी देखिन्छ । त्यसैले पनि उनीहरु सक्रिय बनेका हुन् ।
बुधबार नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पनि भक्तपुरलाई ३ नं प्रदेशको राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई एक ज्ञापनपत्र समेत दिएका छन् ।