एमाले-माओवादीलाई महंगो पर्दै 'प्रदेश राजधानी कार्ड', सुरु भयो विवाद
प्रकाशित २०७४ पुष २ आइतबार
267
Shares
काठमाडौं । प्रदेश नं ५ को राजधानीको विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसद्हरुबीच नै मतभेद सुरु भएको छ । चुनावी घोषणापत्रको क्रममा जनताको मन जित्न जताजतै प्रदेश राजधानीको आश्वासन दिँदै हिँडेका एमाले र माओवादीका सांसद्हरुबीच नै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा विवाद सुरु भएको छ । चुनावको बेला धेरैलाई आश्वासन दिएको प्रदेश राजधानीको विषय अब एक पक्षले हार्ने पक्का पक्की छ । यसमा जुन सांसद्को पहुँच बढी पुग्छ त्यही सांसद्को क्षेत्रमा प्रदेश राजधानी बस्ने सम्भावना बढी रहेको पनि देखिन्छ ।
आईतबार पाल्पामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा नवनिर्वाचित सांसद्हरुले चुनाव अघि आफूहरुले आश्वासन दिए अनुसार नै प्रदेश ५ को राजधानी बुटवलमा हुनुपर्ने माग गरेका छन् । पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको जनाएका हुन् ।
पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताए। उनीहरुसँगै त्यस्तै, नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने भन्दै बुटवल नै प्रदेश राजधानी बन्नुपर्ने जिकिर गरेका छन् । नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गरे ।
उता, शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका थिए। भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयबढी पुरातात्विकस्थल यस जिल्लामा रहेकाले प्रदेश नं ५ को राजधानी कपिलवस्तु नै अति उत्तम हुनेमा सबैको जोड थियो ।
कपिलवस्तु क्षेत्र नं १ का नवनिर्वाचित सांसद चक्रपाणि खनाल बलदेवले भौगोलिकरुपमा पनि ५ नं प्रदेशको केन्द्र कपिलवस्तु नै पर्ने र सांस्कृतिक, पुरातात्विक दुवै हिसाबले राजधानीका लागि उपयुक्त ठाउँ भएको विचार व्यक्त गरे । त्यस्तै अर्का सांसद बृजेशकुमार गुप्ताले पनि बौद्धकालीन संघीय राज्य कपिलवस्तु रहेको र गणतन्त्रको संघीय राजधानी पनि कपिलवस्तुमै हुनुपर्ने जिकिर गरे । कार्यक्रममा प्रदेश विधायक विष्णु पन्थी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, अर्जुन केसी लगायतले पनि प्रदेश राजधानी कपिलवस्तु बनाउन सदन तताउन परे पनि तयार भएको उद्घोष गरे ।