arrow

सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह

logo
प्रकाशित २०७४ पुष २ आइतबार
subash-nembang3.jpg.jpeg

दमक । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। 

आइतबार बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँदैनयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न आग्रह गरे । उनले भने, “राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खोज्नु उचित हुँदैन, जनादेशानुसार बाटो सहज गरिदिनुपर्छ ।” 

राष्ट्रियसभा विधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएको बताउँदै नेम्वाङले सो विधेयक निर्वाचनअघि नै ल्याउनुपर्नेमा अहिले निर्वाचन परिणाम आइसकेपछि ल्याइएकाले यस्तो समस्या देखिएको विचार व्यक्त गरे। 

संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत भएको टिप्पणी गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन स्वीकारेर अघि बढ्न र संविधानले व्यवस्था गरेका प्रणालीहरु आत्मसात् गरेर जान दलहरुलाई सुझाव दिए। 

“एमाले र माओवादी केन्द्रलाई जनताले जनादेश दिएका छन्, अब दम्भ होइन, लचिलो भएर अघि बढ्नुको विकल्प छैन”, इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ