काठमाडौं उपत्यकामा ड्राइभिङ सेन्टरहरुको धमाधम अनुगमन, कति भए सिल ?
प्रकाशित २०७४ पुष ३ सोमबार
525
Shares
काठमाडौं । आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका ड्राइभिङ सेन्टरहरुको धमाधम अनुगमन गर्न थालेको छ ।
सोमबार ललितपुर क्षेत्रमा अनुगमन गरी विभागले शंखमुलको रामेछाप भ्याली ड्राइभिङ इन्स्टिच्युटमा सिलबन्दी गरिदिएको छ ।
ड्राइभिङ सेन्टर अनुगमनका लागि दुईवटा टोली गठन गरी परिचालन गरिएको छ । आइतबार तीनकुने र भक्तपुरका पाँच ड्राइभिङ सेन्टरको अनुगमन गरी दुईवटामा सिलबन्दी गरेको विभागका अधिकृत रामकृष्ण श्रेष्ठले बताए ।
तीनकुनेको एन्जल मोटर्स ड्राइभिङ सेन्टर र भक्तपुरको राधे–राधे नजिकै रहेको पर्फेक्ट भेहिकल एण्ड इन्टरप्राइजेजले अनुमतिपत्र नलिइ संचालन गरिरहेको पाइएको छ । ती दुई सेन्टरमा विभिागको अनुगमन टोलीले ताला लगाइएको छ ।
अनुमति नलिइ संचालनमा रहेका, दर्ता नभएका तथा मापदण्ड नपुगेका ड्राइभिङ सेन्टरहरुलाई विभागले सिलबन्दी गरी कारोबार बन्द गर्न सक्दछ, विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भनेका छन् ।
उनले विभागबाट स्विकृती नलिएका ड्राइभिङ सेन्टर बन्द गर्ने तथा दर्ता भएकाहरु नियमानुसार नचले दर्ता खारेज गर्न सकिने पनि बताए ।
यस्तै, आइतबार, एकान्तकुनाको युटर्न ड्राइभिङ स्कुल सिलबन्दीमा परेको छ । धोबीघाटको मेगा ड्राइभिङ स्कुल र महालक्ष्मी ड्राइभिङ स्कुलले नविकरण नगरेको पाइएकाले कारोबार नै रोक्का भएको छ ।