काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वैदेशिक रोजगारमा जाने मुलुकसँग सम्झौता नगर्नाले श्रमिकको मानवअधिकार हनन भएको बताएका छन् ।
सोमवार आयोगले ललितपुरमा आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारमा सरोकारवालाको प्रभावकारी भूमिका’ विषयक अन्तरक्रियामा उनले सरकारकै कारण वैदेशिक रोजगारमा जाने श्रमिकको मानवअधिकार हनन भएको आरोप लगाए ।
“अहिले पनि मलेसिया, साउदी अरबलगायत केही देशसँग कामदार पठाउने बारेमा सम्झौता गरिएको छैन”, उनले भने, “त्यसैले ती मुलुकमा बढी मानवअधिकार उल्लङ्घन भएका छन् ।”
अध्यक्ष शर्माले सम्झौता गरेर मात्र श्रमिकलाई पठाउँदा अधिकार पाउने बताउँदै धेरै जनशक्ति जाने मुलुकमा सरकारले चाँडै नै श्रम सम्झौता गर्नुपर्ने आवश्यकता औँल्याए ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मीप्रसाद मैनालीले वैदेशिक रोजगारमा जाने श्रमिकका विषयमा नीतिगत सुधार गर्न लागि परेको बताउँदै “वैदेशिक रोजगारमा जानेको मानवअधिकार उल्लङ्घन सम्बन्धी कुरालाई अन्तर्राष्ट्रियस्तरमा उठाएर समाधान गर्नुपर्दछ,”भने ।
आयोगका सदस्य सुदीप पाठकले सरकारले घरेलु कामदारसम्बन्धी सन्धिलाई लागू गरे श्रमिक सुरक्षित हुने बताउँदै सरकारले अनुगमन नगर्दा वैदेशिक रोजगारमा जाने श्रमिक ठगिने गरेको धारणा व्यक्त गरे।
आयोगका अर्का सदस्य मोहना अन्सारीले विभिन्न देशमा रहेका नेपाली राजदूतावासलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
वैदशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद वान्तवाले श्रम सम्झौता गरेको मुलुकमा मात्र श्रमिक सुरक्षित हुने बताए ।