काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ क्षेत्र नं २ मा उम्मेदवारी दिँदैगर्दा उनको सहज जीतको अनुमान धेरैले गरेका थिए । राष्ट्रिय राजनीतिमा समेत लोकप्रियता पात्रका रुपमा चर्चामा आईरहने पौडेलको यो उम्मेदवारीको नतिजा आईपुग्दासम्म धेरैले सोचजस्तो नतिजा नआएपछि यतिबेला धेरैले उनको पराजयमा आश्चर्य प्रकट गरेका छन् । उनी जनताको मत कम भएर हारे कि मतगणनाको क्रममा कसैको बदमासीको शिकार भए त ? यो विषय अहिले धेरैको लागि चासोको विषय बनेको छ । तर, मत गणनालाई नजिकबाट नियालेकाहरुको तर्कलाई आधार मान्ने हो भने यो उनलाई जनमत नपुगेर होईन कि मतगणना स्थलमा रहेकाहरुको बदमासीको शिकार बनेर उनी पराजीत बन्न पुगेका हुन् ।
मत संकलन गरिएका ५ वटा बाकस भित्र २३ सय २८ मत हुनु पर्नेमा २३ सय ७० मत देखिँदा पुनः मत गणनाको माग गरेको भए तत्काल प्रदीप पौडेल ३७ मतले विजयी घोषित हुन्थे । तर, प्रदीप पौडेलले पुन मतदानको माग गरी गणना स्थल छाडेर हिँड्दा प्रतिपक्षीले गणनास्थल आफ्नो कब्जामा लिइ ५ मतले पौडेल उपविजेता भएको घोषणा गरेको मतगणनामा संलग्न एक सदस्यले जानकारी दिए । यो पौडेलको कमजोरी थियो । त्यहाँ पुनः मतगणनाको माग गर्नुपर्नेमा पुनः मतदानको माग गरे ।
पौडेलले निर्वाचनमा जीत र हार स्वभाविक रहेको भन्दै निर्वाचन आयोगले गलत प्रक्रिया अवलम्बन गरेर मत परिणाम घोषणा गरेको आरोप लगाए ।
कस्तो थियो घटनाक्रम ?
निर्वाचन मतगणना स्थलको एक हललाई दुई भागमा विभाजन गरी एक भागमा प्रतिनिधिसभा सदस्यको मतगणना गरिएको र अर्को भागलाई पुनः सामान्य प्लाइउडले बारेर २ भाग बनाई प्रदेशसभा १ र २ को मतगणना गरिएको थियो । मतगणनाकै क्रममा प्रदेशसभा २ को मतगणना सकिंदा प्रदेशसभा १ तर्फ अन्तिम ९ बाकसमध्ये ४ वटा बुथ भर्खरै आरम्भ गरिएको थियो र बाँकी ५ वटा बुथका बाकस नगनीकनै राखिएको थियो । यस्तो अवस्थामा प्रदेश सभा २ को मत गनिसकिएको हुँदा बाँकी रहेका क्षेत्र नं १ का ५ वटा बुथका ५ वटा बाकस २ नं.को गणनास्थलमा गन्न थालौं भन्ने प्रस्तावअनुसार सबै मतगणकको सहमतिबाट बाँकी ५ बुथको पनि मतगणना आरम्भ गरियो ।
जसमा ५ बुथमध्ये अमरज्योति आवासीय मा.वि. ग्यारासिंहको ३७६ मत, व्यास ५ को जनजुक्त शाही ‘क’ केन्द्रमा ५४२ मत, म्याग्दे गाउँपालिका जनज्योतिकुमारी शाही आवासीय विद्यालय ‘क’ को ४८७ मत, व्यास ५ उदय मा।वि। ठुलेटार ‘ख’ मतदान केन्द्रको ३९६ मत र म्याग्दे गाउँपालिका ४ मीन मावि ख केन्द्रको ५२७ मत गरी मतदान अधिकृहरुको प्रमाणअनुसार जम्मा खसेको मतसंख्या २३२८ को प्रामाणिक मुचुल्का भएता पनि उक्त पाँचवटा बुथको मत गन्दा २३७० मतपत्र पाइसकेकोमा प्रदीप पौडेल पक्षका मतगणकहरुले विरोध तथा अवरोध गर्दागर्दै पनि मतदान अधिकृतको जबर्जस्तीका कारण मतगणना अगाडि बढाइएको थियो ।
९ नं र १० जुन ५ वटा बुथमा जम्मा २३२८ मत खसेकोमा बदर मतसंख्या १२६, घर चुनाव चिह्नमा २७ मत, गिलास चुनाव चिह्नमा ३० मत, देब्रे आँखा चुनाव चिह्नमा ७ मत, गोलाकारभित्रको हलोमा २ मत, गाई चुनाव चिह्नमा २६ मत, हँसिया तारामा १०७ मत, हलो चुनाव चिह्नमा १७ मत र अर्को एक चुनाव चिह्नमा २१ मत अनि रुख चुनाव चिह्नमा १०९८ मत गर्दा जम्मा मतपत्र १४६२ भई बाँकी मतपत्र ८६६ हुनुपर्नेमा ९०८ देखिन गएको छ । जुन निर्वाचन मतदान अधिकृतको मुचुल्का अनुसार २३२८ हुनुपर्नेमा ४२ मतपत्र बढी भई २३७० देखिन आएको छ । उक्त ५ वटा बुथहरुमा यस्तो हुन सक्दैन र यो हामीलाई मान्य छैन भनी प्रदीप पौडेल पक्षका मतगणक प्रतिनिधिहरुले विरोध गर्दैगर्दा समेत उक्त मतदान अधिकृतका बलले गणना कार्यलाई अगाडि बढाइएका थिए । जसको अन्तिम परिणाममा नियोजित ढंगबाट आशा कोइरालालाई १६ हजार ६ सय ४६ मतले विजयी र प्रदीप पौडेल १६ हजार ६ सय ४१ मतका साथ ५ मतका अन्तरले पराजित भनी जबर्जस्ती घोषणा गरिएको रहस्य खुल्न आएको हो ।
धाँधलीको आधार यस्तो छ
यो कुरा कसरी प्रमाणित भएको छ भने प्रदेशसभा २ को मतगणना समाप्तिपश्चात् प्रदेश सभा १ को मतगणना गर्ने क्रममा प्रदेश सभा १ का ९ वटा मतपेटिकाका मत गन्न बाँकी रहेका र आफ्नो सभाको मतगणनास्थलमा ४ वटा बुथको मतगणना भर्खरै आरम्भ गरिएको र बाँकी उक्त ५ वटा बुथको मतगणना २ नं. प्रदेशको मतगणना समाप्त भइसकेको हुँदा सोही स्थानमा सुरु गरिएको थियो । जसमा १ नं. को गणनास्थलमा ४ वटा बुथको मत मिसाई गणना गर्दा पहिले हँसिया हथौडाको मत गनियो र ७४२ मत आयो । यी मतपत्रहरुलाई १००–१०० का सात मुठा र ४२ वटा मतपत्रको एक मुठा पारियो । प्रदेशसभा २ तर्फ भने पहिले रुख चुनाव चिह्नलाई छुट्याइयो र मतगणना आरम्भ गरियो ।
गणनाकै क्रममा हँसिया हथौडाको मतपत्रलाई केही कम आँकलन गरी प्रदेशसभा एकतर्फ बढी भएको मतपत्र थान ४२ लाई अज्ञात तवरले पहिले नै प्रदेशसभा २ को गणनास्थलतर्फ पुर्याई उक्त ४२ मतपत्रलाई हँसिया हथौडाको मतपत्रमा मिसाइयो, जसका कारण खसेको मतपत्र भन्दा ४२ मतपत्र नै बढी देखिन गयो र उक्त ४२ मतपत्र हँसिया हथौडाको दुईपटक गणना भयो र ५ मत हँसिया हथौडाको बढी देखिन गई आशा कोइराला विजयी घोषित भईन् । जुन घोषणालाई प्रदीप पौडेल पक्षका मतगणक प्रतिनिधिहरुले स्वीकार गरेका छैनन् । किन यस्तो भयो र कसरी यस्तो गराइयो भन्ने सन्दर्भमा स्मरण रहोस् उक्त बढी मत पनि वास्ता नगरी पूर्ण सदर गर्ने मतदान अधिकृत आशा कोइरालाकै कृपापात्र रही महिला विकास शाखामा जागिरमा प्रवेश गरेकी थिइन् र उनकै छत्रछायामा अधिकृतसम्म बनी उनकै निगरानीमा मतदान अधिकृतका रुपमा खटिई मतदान स्थलसम्म पुगेकी थिइन् ।
३७ मतले प्रदीप पौडेल विजयी भइसकेको अवस्थामा उनकै कारण उक्त ४२ मतपत्रलाई दोहोर्याएर गन्न लगाउँदा प्रदीप पौडेल ५ मतले पराजित देखाइएका छन् भने आशा कोइराला ५ मतले बढी देखाई विजयी घोषित गरिएको नाम बताउन नचाहने एक मतदान अधिकृतले नै जानकारी दिएका छन् । यसपश्चात् पनि यदि प्रदीप पौडेलले तत्कालै उक्त नौ केन्द्रको पुनः मतगणनाको दाबी गरी आशा कोइरालाको विजय घोषणामा अस्वीकार गर्नुपर्नेमा पुनः मतदानको निवेदन निर्वाचन कार्यालयमा दिएर आफ्नो भइसकेको विजय यात्रालाई झन् अन्योलतातर्फ धकेलिदिएका छन् ।