[अपडेट] सुपर ग्यास उद्योग आगलागीः प्रयास असफल, स्थानीयलाई पाँच किलोमिटर टाढा जान अपील
प्रकाशित २०७४ पुष ५ बुधबार
618
Shares
वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी नियन्त्रणमा आउन सकेन । बिहान ६ बजेदेखि आगो चार घण्टासम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
आगलागी नियन्त्रणका लागि वीरगञ्ज २४ पटेलनगरमा रहेको उद्योगमा भारतको बिहारबाटसमेत दमकलहरु ल्याइएका छन् । तर त्यसको प्रभाव देखिएको छैन ।
ग्यास सिलिन्डर निरन्तर पड्किरहेको छ । त्यहाँ रहेको प्लान्टमा आगलागी भएका खण्डमा वीरगञ्ज वरिपरिको पाँच किलोमिटर क्षेत्रमा रहेका हजारौं स्थानीयलाई खतरा हुन सक्ने औंल्याइएको छ ।
कतिजनाको ज्यान गयो भन्नेसमेत यकिन हुन सकेको छैन । आगलागी नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको दमकल र त्यसमा रहेका दुई जना जलेको बताइएको छ । केही बेपत्ता छन् । केही कामदारको घाइते अवस्थामा उद्धार भइरहेको छ ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी आगलागी नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागीका कारण बस्ती छाडेर स्थानीय सुरक्षित स्थलतर्फ लागेका छन् ।
झण्डै पाँच किलोमिटरसम्म टाढा जान आग्रह समेत गरिएको छ ।