कांग्रेसका भातृ र शुभेच्छुक संस्थाका प्रमुखहरु देउवाको प्रतिरक्षाका लागि रणनीति बनाउदै
प्रकाशित २०७४ पुष ५ बुधबार
573
Shares
काठमाडौं । मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको स्थिति उत्साह जनक नभएपछि कांग्रेस नेतृत्वमा टिका टिप्पणी भइरहेको समयमा कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुले भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिरक्षामा उत्रने तयारी गरेका छन् ।
कांग्रेसका नेताहरुले सार्वजनिक कार्यक्रमहरुमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा टिका टिप्पणी गरेपछि र विभिन्न संचारमाध्यममा अन्तर्वार्ताहरु दिन थालेपछि प्रतिरक्षात्मक बनेको कांग्रेसको संस्थापन पक्ष भातृ तथा शुभेच्छुक संस्थाहरुलाई परिचालन गरेर प्रतिरक्षामा उत्रने तयारि गरेको हो ।
नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरु यसै सिलसिलामा गृहकार्यमा जुटेका छन् । विशेष गरि पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुले बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेका छन् । काठमाडौंको इन्द्रेणि फुडल्याण्ड वानेश्वरमा उनिहरुले विहान लन्च मिटिङ गरेका छन् ।
सो लन्च मिटिङमा पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै अन्य देउवा निकट तथा प्रभावशाली कार्यकर्ताहरुको समेत सो वैठकमा उपस्थित थिए ।
वैठकमा नेपाल तरुण दलका अध्यक्ष जीत जंग बस्नेत, नेपाल विद्यार्थी संघमा अध्यक्ष नैन सिह महर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, नेपाल महिला संघ अध्यक्ष डिला संग्रोला, नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा, नेपाल शिक्षा संघ अध्यक्ष लगायतका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । सो वैठकमा नेपाली कांग्रेसको पछिल्लो अवस्था निर्वाचनमा प्राप्त मत परिणाम पछि संसदमा कांग्रेसको उपस्थितिका विषयमा दलका नेताहरुले भनेको जस्तो अवस्था नभएको बारेमा उनिहरु एक मत भएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ निर्वाचित हुने क्रममा केहि सदस्य कम भएपनि समानुपातिकमा अहिलेपनि कांग्रेसको स्थिति कमजोर नरहेको निष्कर्ष निकालेका उनिहरुले पार्टी सभापतिका विरुद्ध हुने कुनै पनि आक्रमणको प्रतिवाद र प्रतिरक्षा गर्ने रणनीति बनाएका छन् । साथै कांग्रेसका नेताहरुले केन्द्रिय समितिको बैठक हुदै विशेष महासमितिको वैठक र महाधिवेशनसम्म जान सक्ने कुरा व्यक्त गरि रहदा विशेष महाधिवेशनसम्म जाने अवस्थामा कसरी पार्टी सभापति शेर बहादुर देउवाको नै पल्ला भारी बनाउने भन्ने सन्दर्भमा छलफल गरेका थिए ।
विशेष महाधिवेशनसम्म सकेसम्म जने अवस्था रोक्ने र विशेष महाधिवेशनसम्म जाने अवस्था रहे देउवाकै पक्षमा माहोल बनाउने गरि काम गर्न उनिहरुले रणनीति बनाएका छन् । साथै केन्द्रिय समितिको वैठक अघि बाहिर सार्वजनिक रुपमा देउवाको पक्षमा लाग्ने समेत उनिहरुले तयारी गरेका छन् । महासमिति वैठक हुने अवस्था आएमा महासमिति वैठकमा देउवाले लिएको निति र एजेण्डाहरुलाई नै स्थापित गर्ने गरि देश भर माहोल बनाउने अभियान सुरु गर्ने निर्णयमा उनिहरु पुगेका छन् ।