arrow

नयाँ सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्छ : सापकोटा

देउवाले तुरुन्त राजिनामा दिनुपर्छ -सापकोटा, सरकारमा बसिरहने रहर होइन- महत

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
agni sapkota.jpg.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री देउवाजीको एउटै राजिनामाले अहिलेको गतिरोधको निकास दिन्छ, राजिनामा दिन उहाँले किन ढिलाई गर्नुभएको छ, हामीले बुझ्न सकेको छैन, नयाँ जनमतको सम्मान गर्दै राजिनामा दिँदा नै कांग्रेसको पनि भलो हुन्छ, राजिनामा दिन जति ढिलाई हुन्छ त्यति नै कांग्रेसलाई घाटा हुन्छ।’

सिन्धुपाल्चोकबाट निर्वाचित सांसद समेत रहेका नेता सापकोटाले सरकार बनेको तीन महिनाभित्रै चीनसँगको तातोपानी नाका खुल्ने समेत दाबी गरे । उनले भने,‘म चुनावी अभियानमा भएको बेला मैले घोषणा गरेको थिएँ कि तातोपानी नाका सरकार बनेको तीन महिनाभित्रै सुचारु हुन्छ भनेर, अब त्यसको लागि मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदुत लिलामणि पौड्यालजीसँग पनि कुरा गरिसकें, चीनीयाँ नेताहरुसँग पनि छलफल गरेको छु, अब छिट्टै नेपालका लागि चीनीयाँ राजदुतसँग पनि कुरा हुँदैछ।’

नेता सापकोटाले राष्ट्रिय सभासम्बन्धी निर्वाचनको बारेमा पहिल्यै नै बुहमतीय संक्रमणीय व्यवस्थाको आधारमा जाने सहमति भएको दाबी गरे । उनले थपे,‘निर्वाचन आयोग, तत्कालिन सरकार र संसदको राज्य व्यवस्था समितिमा पनि राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी बहुमतीयकै आधारमा जाने सहमति भएको थियो, अहिले आएर यसरी बेखडा झिक्नुहुँदैन थियो, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक हुँ भन्ने पार्टीले यस्तो काम गर्नु गलत भयो।’

नेता सापकोटाले नयाँ जनमत आईसकेको अवस्थामा प्रधानमन्त्रीले अब विलम्ब नगरी राजिनामा दिँदा सबै खाले शंकाहरु दुर हुने समेत स्पष्ट पारे । ‘प्रधानमन्त्री देउवाजीले राजिनामा दिएपछि बसेर सहमति खोज्दा राम्रो हुन्छ’ उनले भने,‘राजिनामाको लागि प्रधानमन्त्रीले ढिलाई गर्नुहुँदैन, यो राजनीतिक विषय भएकोले यसलाई राजनैतिक रुपमै हल गर्नुपर्छ।’

राष्ट्रपतिले अध्यादेश राकेको भनेर कांग्रेसले आरोप लगाउनु सरासर गलत भएको समेत उनको भनाई थियो । उनले भने,‘राष्ट्रपतिले बरु दलहरुवीच सहमति खोज्नुहोस् भनेर बारबार आग्रह गर्नुभएको छ, उहाँलाई विवादमा मुछ्नु गलत हुनजान्छ, बरु सरकारले यसरी अध्यादेश ल्याउनु र पास गर्न दबाब दिनु चाहीँ यसमा केही नीहित स्वार्थ छ भन्ने पुष्टि हुन्छ।’

फरक प्रसँगमा उनले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने जिकिर गरे । सापकोटाले थपे,‘पार्टी एकता संयोजन समिति बनाएर हामी चुनावी महाअभियानमा होमिएका थियौं, जनताले पनि सोही अनुसार जनमत दिएका छन्, एकताबाट दायाँबायाँ गर्नुहुँदैन, दुई पार्टीबाट जसले दायाँबायाँ गरे तीनलाई जनताले विस्थापित गर्छन्।’ उनले कांग्रेसलाई अरु पार्टीसँग एकता गर्न सुझाव दिए ।

त्यस्तै उनले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने समेत घोषणा गरे । सापकोटाले थपे,‘दुवै पार्टीका शीर्ष नेताहरुलाई कार्यकारी पद दिनेबारे पहिल्यै नै सहमति भएको हो, एकजना प्रधानमन्त्री बन्दा अर्को नेता एकीकृत पार्टीका अध्यक्ष बन्ने पक्का छ।’

साथै  नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्विकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरे ।

महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने,‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दैहुनुहुन्छ, यो अहंकार हो।’

उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ ?’ उनले अहिले प्रधानमन्त्री देउवाले राजिनामा नदिने जिकिर गर्दै भने,‘उहाँले अहिले सरकार छोड्दैछोड्नुहुन्न।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ