सिटाैलाले भने, ‘राष्ट्रिय सभामा मनाेनयन भएर जानु मेरा लागि साेच्नु नै अनैतिक'
प्रकाशित २०७४ पुष ७ शुक्रबार
351
Shares
काठमाडौं । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा जान खोजेको भनि आफ्नो नाम जोडेर गरिएको अनर्गल प्रचारप्रति आपत्ति जनाएका छन् । नेता सिटौलाले आफुबारे अनर्गल प्रचार नगरिदिन अपिल समेत गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका काँग्रेस नेताहरु राष्ट्रिय सभामा जान खोजेको भनि आएका समाचारमा नेता सिटौलाको नाम जोडिएपछि उनले यस्ताे अपिल गरेका हुन् ।
हामीले सिटौलालाई तपाई राष्ट्रिय सभामा जान खोजेको चर्चा के हो ? भनि सोध्दा जवाफमा उनले, ‘प्रतिनिधि सभा निर्वाचन हार्ने, अनि मनाेनयनबाट राष्ट्रिय सभामा जाने कुरा साेच्नु नै मेरा लागि अनैतिक हाे । अब यस्तोमा सरिक हुने कुरै हुँदैन ।’
अबको पाँच वर्ष सिटौलाले संसदमा सहभागि नहुने बताए । उनले भने, ‘अबको पाँच वर्षसम्म म पार्टी संगठनका लागि काम गर्छु ।’ उनले आफ्नो पार्टी संगठनमात्र नभई बाहिरै रहेर सिंगो नेपाली राजनीतिका लागि खट्ने पनि बताए ।
यो अनर्गल प्रचार मलाई नबुझ्नेहरुले गरेकाे हुनसक्छ, पूर्वमहामन्त्री समेत भइसकेका नेता सिटौलाले भने, ‘यो सोच्नै नसक्ने कुरा हो ।’ उनले अब सडकबाटै नेपाली राजनीतिका लागि काम गर्नु मेरा लागि उपयुक्त हुन्छ, -भनेका छन् ।