पार्टी एकताका लागि पुल भत्काएर अगाडि बढेका हौं, फर्किने ठाउँ छैन : प्रचण्ड
'राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन'
प्रकाशित २०७४ पुष ९ आइतबार
223
Shares
चितवन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताए।
एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उनले भने, “दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन। हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन।” संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै नेता दाहालले भने, “पछि हट्ने विकल्प छैन।”
उनले हिजो (शनिबार) र आज(आइतबार) बिहान पनि आफूले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कसरी छिटो पार्टी एकता गर्ने भन्ने विषयमा छलफल गरेको जानकारी दिए।
उनले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने कांग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताए। उनले भने, “कांग्रेसको प्रतिनिधित्व नहुँदा वामपन्थीका लागि पनि खुशीको कुरा होइन, प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता लिन्छ।”