म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन : प्रहरी प्रवक्ता
प्रकाशित २०७४ पुष ९ आइतबार
261
Shares
काठमाडौं। नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ। आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताए।
उनले भने–“सबैलाई आधारभूत तलव मासिक रु १७ हजार २३० का दरले दिइएको छ। यस्तै, रासन र स्थानीय भत्ता सुविधा फरक÷फरक जिल्ला र एउटै जिल्लाभित्र पनि फरक÷फरक सुविधा तोकिएअनुसार सुविधा दिइएको छ।” शुक्रबार तोकिएको भन्दा कम सेवा, सुविधा पाएको भन्दै कालिकोटमा म्यादी प्रहरीले आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो। कालिकोटमा म्यादी प्रहरीलाई दिने भनिएको सवै सेवा, सुविधा दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए। कालिकोट घटनाको सम्बन्धमा छानविन समिति गठन गरिएको र समितिले काम सुरु गरिसकेको उनले बताए।
म्यादी प्रहरीको भर्ना खोल्दा तोकिएकै सेवा, सुविधाअनुसारको रकम बैंकमार्फत उनीहरुको खातामा पठाइएको उनको भनाइ छ। सरकारले ५५ दिनका लागि ९८ हजार २६८ म्यादी प्रहरीका लागि भर्ना माग गरेको थियो। निर्वाचन अवधिभर एक हप्ताका लागि प्रतिदिन रु २५० का दरले विशेष भत्ता, रासन र सात दिनकै लागि प्रतिदिन रु २५० का दरले खाजा-खाना खर्च उपलब्ध गराएको थियो।
यस्तै, सेवा अवधिभर घाइते भएमा उपचार खर्चवापत रु एक लाख ५० हजार र मृत्यु भएमा रु १५ लाखको बिमा गरिएको थियो। यस्तै, पोशाक भत्ताबापत रु चार हजार र खटिएको ठाउँमा जान रु एक हजार खर्च उपलब्ध गराइएको प्रवक्ता न्यौपानेले जानकारी दिए। रासस