राष्ट्रिय सभाको विवाद केही दिनमै अन्त्य हुन्छ : प्रचण्ड
प्रकाशित २०७४ पुष ९ आइतबार
990
Shares
भरतपुर। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवाद केही दिनभित्र अन्त्य हुने बताएका छन् । संविधानमा राष्ट्रिय सभाबारे ठोस कुरा उल्लेख छैन।
त्यही भएर नै यसबारे दलहरु बीच केही विवाद देखिएको छ, भरतपुर शुक्रनगरको प्रगति माविको ४७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी बनेको थियो, त्यहीअनुसार ड्राफ्ट बन्यो। पछि कांग्रेसका नेताहरुका कारण बहुमतीय प्रस्ताव गयो। एकल संक्रमणीय मतमा जाँदा तीन जना (महिला, दलित र अपाङ्ग वा पिछडिएको क्षेत्र) को सदस्य निर्वाचित गर्न समस्या आउँछ, त्यसका लागि बहुमतीयमै जानुपर्छ। तर, राष्ट्रिय सभामा प्रतिपक्ष पनि चाहिन्छ। त्यसमा एमाले अध्यक्ष ओली र मेरो गम्भीर रुपमा नै कुराकानी भएको छ। राष्ट्रिय सभा गठनसम्बन्धि विवाद केही दिनमा अन्त्य हुन्छ।’
कतिपय अनलाइन र सोसियल मिडियामा पार्टी एकताबारे भ्रामक समाचारहरु आएका छन्। बामपन्थी एकता भाँड्न सकिन्छ कि भनेर प्रयास गरिएको छ, भरतपुरमा आयोजित बुद्धिजीवीहरुको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, पार्टी एकतामा हामी बीच कुनै समस्या छैन। हिजो नै म भैरहवाबाट काठमाडौं पुगेर पार्टी एकता समितिको बैठक बस्ने तयारी थियो। मौसमको खराबीका कारण जान सकिएन। पर्सि काठमाडौं गएपछि एकता समितिको बैठक बस्छ, एकता प्रक्रिया अघि बढ्छ। पार्टी एकता हुँदैन कि भनेर कसैले सोचेको छ भने त्यो कल्पना मात्र हुन्छ।’