प्रचण्डको 'राईटिस्ट' र 'लेफ्टिस्ट' 'मुभ'ले नेताहरु नै 'कन्फ्युज' !
प्रकाशित २०७४ पुष १० सोमबार
221
Shares
काठमाडौं । आईतबार नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिने ३ जना नेताहरुसँग चियापान हुँदै थियो । सोही चियापानमा सहभागीहरु मध्ये एक जना माओवादी र एमालेसँगको एकताको विपक्षमा रहेका नेता पनि सहभागी थिए ।
भन्नाले माओवादी भित्र एकताको पक्षमा रहेका र एकताको विपक्षमा रहेका दुबै पक्षसँगको चियापान कार्यक्रम संयोगले नै जुटेको थियो । चियापान सुरु भएसँगै कुराकानी सुरु भयो समसामयिक राजनीतिक घटना र वर्तमान राजनीतिक परिस्थितीको ।
चिया चर्चामा एमालेले धोका दिने प्रयास गरेकोले एकता प्रक्रियामा पनि समस्या आउने देखिएको एकता विरोधी नेताले तर्क गरिरहँदा माओवादीका एकता पक्षधर नेताले भने त्यसको खण्डन गरिरहेका थिए । उनीहरु पनि पार्टीको अबको बाटोबारे मिडियामा आएका समाचार हेरेर मात्रै जानकारी राख्ने गरेका रहेछन्।
उनीहरुको विश्लेषण सुरु भयो । हाम्राकुरा डटकमले एक साता अघि लेखेको एमालेको विकल्पको राजनीति सम्बन्धी समाचारमा उल्लेख भएजस्तै उनीहरुले कुन् प्रदेशमा कुन् पार्टीले सरकार बनाउँन सक्छ भन्ने विषय कोट्याउँदै जाँदा एमालेलाई त प्रदेश ६ बाहेक अन्यत्र माओवादीको आवश्यकता नपर्ने देखेपछि उनीहरुले त्यही तथ्यांकमा प्रचण्डको शुक्रबारको अभिव्यक्तिलाई जोडेर विश्लेषण गर्न थाले । 'केन्द्रमा पनि फोरमसँग मिल्दा सरकार बन्छ र प्रदेशमा पनि बन्छ भने एमालेले माओवादीलाई किन साथमा लिन्छ त ?' यो एकताको पक्षमा रहेका ती नेताको तर्क थियो ।
त्यो समाचार हेर्दैगर्दा राष्ट्रिय सभाको चर्चा चल्यो । राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा त प्रचण्डले एकल संक्रमणीय मत प्रणालीको पक्षमा नै सहमति जनाउने ससम्भावना बढी रहेकोमा उनीहरु दुबै पक्ष सहमत देखिए । 'अध्यक्ष काम्रेड एकल संक्रमणीयकै पक्षमा धेरै लचिलो भईसक्नु भएको छ । मत प्रणाली चाहिँ राष्ट्रिय सभामा एकल संक्रमणीय नै हुने देखिन्छ ।' उनीहरुले भने ।
त्यसो त प्रभावशाली भनिएका नेताहरु पनि पत्रपत्रिकामा समाचार पढेर नै आफ्नो धारणा बनाउनु पर्ने बाध्यताका कारण अहिले पार्टी एकता हुन्छ भनेर ढुक्क हुन सकेका छैनन् । बरु पार्टी एकता भएन भने भोट माग्न गएका नेताहरुको अगाडि कसरी मुख देखाउने भन्नेमा नै उनीहरु चिन्तित देखिन्थे । 'माथिल्लो पंक्तिका काम्रेडहरुले फोन उठाईदिनुहुन्न, हामीलाई के हुन्छ भनेर मिडियाले सोध्छन् आफैं मिडियाबाट के हुन्छ भनेर समाचार लिनुपर्ने बाध्यता छ ।' उनीहरुले तीतो पोखे ।
यसरी प्रचण्डको कहिले के त कहिले के अभिव्यक्तिले गर्दा माओवादीका नेताहरु निराश मात्रै बनेका छैनन् । पार्टी एकता नहुने भयो भनेर हरेश समेत खान थालेको तथ्य यही चियापनबाट पनि पुष्टि भएको छ ।