जिल्ला सभापतिहरु समेटेर रामचन्द्र र प्रकाशमानको ‘डिनर’ भेला, के भयो कुरो ?
प्रकाशित २०७४ पुष ११ मंगलबार
403
Shares
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सान्त्वना दिन जिल्ला सभापतिहरुले भेला गरेका छन्। काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको घर नजिकै भएको भेलामा हारको समीक्षा गर्न भन्दै भेला डाकिएको थियो। पौडेल र सिंह सहित १६–१७ जना जिल्ला सभापतिहरु भेला भएको मुगु जिल्लाका जिल्ला सभापति खड्गबहादुर शाहीले बताए। उनले ‘वरिष्ठ नेता पौडेलले भोगेको हारबाट हामी सबै स्तव्ध भएकाले उहाँलाई निराशा पैदा नहोस् भन्नका लागि भेला गरी सान्त्वना दिएका हौं’ भने।
के भयो त छलफल ?
छलफल हारकै कारण खोतल्न भएको थियो । त्यहाँ धेरैजसो हारेकै उम्मेदवार थिए । मुगुबाटै पराजित भएका शाहीले हाम्राकुरासंग अगाडि भने, ‘हामी पनि हारेका थियौं, हारको कारण पार्टी नेतृत्वको कमजोरीले हो कि भनी छलफलमा निकाल्यौं तर रामचन्द्र दाइले यो बेला पार्टी सभापतिलाई दोष दिने समय होइन एकवद्ध भएर अगाडि बढ्ने समय हो, कमजोरी कहीं भएका होलान् त्यसको समीक्षा अहिले गर्ने बेला होइन, पार्टीभित्रको आन्तरिक कमजोरी पार्टीमा गरौंला अहिले त हामी एकढिक्का भएर अगाडि बढ्ने बेला हो भन्नुभयो ।’
शाहीले रामचन्द्रबारे अगाडि थपे, ‘रामचन्द्र दाइ निराश हुनुहुन्छ कि भनेर हामीले उहाँलाई आशा जगाउन भेला गरेका थियौं तर उहाँले त म निराश छैन, प्रजातन्त्रका लागि लड्न एक हारले मलाई केही गर्दैन, कमीकमजोरी जताबाट पनि हुन्छन्, अहिले तपाईँहरु पनि निराश हुने बेला होइन, अहिले व्यक्तिगत रुपमा हारको कारण खोज्नुभन्दा समग्र पार्टीका बारेमा सोच्नुपर्ने बेला आएको छ, एक ढिक्का भएर अगाडि बढौं, पार्टी सभापतिलाई सहयोग गरौं भन्नुभयो ।’
पौडेलले संगठित भएर अगाडि बढ्नका लागिसमेत जिल्ला सभापतिहरुलाई आग्रह गरेका छन्। डिनरसमेत भएको भेलामा जितेकालाई बधाइ र हारेकालाई सान्त्वना दिइएको थियो।
को को थिए त भेलामा ?
भेलामा रामचन्द्र, प्रकाशमान र मुगु जिल्ला सभापति शाहीसंगै काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, सिन्धुपाल्चोक सभापति विकास लामा, धादिङ सभापति रमेश धमला, रुकुम सभापति प्रेमप्रकाश ओली, खोटाङ सभापति नरेशकुमार श्रेष्ठ थिए ।
त्यसैगरी इलाम सभापति हिमालय कर्माचार्य, बर्दिया सभापति सञ्जय गौतम, प्यूठान सभापति अमरप्रसाद भण्डारी, सल्यान सभापति गणेश चन्द, रोल्पा सभापति अमरसिंह पुन लगायत सहभागी थिए ।