arrow

आफ्नै पार्टी भित्रबाट ओलीलाई खतरा !  

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
oli-kp.jpg

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पार्टी बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित प्राय छ। प्रत्यक्ष तर्फको निर्वाचनको नतिजा आएको पनि दुई सात पूरा भईसकेको छ। समानुपातिको मतगणना भैसकेपछि एमाले देशको ठूलो राष्ट्रिय दलको हैसियतमा स्थापित पनि भएकाे छ । तर, राष्ट्रियसभाको मुद्धा नमिलेका कारण समानुपाति सूची भने निर्वाचन आयोगले सार्वजनिक गर्न सकिरहेको छैन। 

अब ठूलो दलको हैसियतले एमालेले अभिभावको भुमिका निभाउन छाडेर बहुमतकाे अहंकारबाट बाहिर निस्किएकाे छैन । राष्ट्रियसभा गठन अघि प्रधानमन्त्री चयन गर्ने भनेर अडान लिएका एमाले अध्यक्ष केपी ओली पछिल्लो समय राष्ट्रियसभा अघि प्रधानमन्त्री चयनको नारा जप्न छाडिसकेका छन्। अब उनको सामु हार्नै पर्ने अर्का एउटा एजेण्डा बाँकी छ त्यो हो राष्ट्रियसभामा बहुमतीय प्रणाली। अहिले एकल संक्रमणीयको पक्षमा रहेको कांग्रेसले राष्ट्रपतिले अध्यादेश फिर्ता गरे आफूहरु फेरि अध्यादेश पठाउने पक्षमा रहेको बताइरहँदा केपी ओलीले एकल संक्रमणीयको पक्षमा समर्थन जनाएनन् भने देउवा सरकार अझै केही समय लम्बिने निश्चित छ।

सरकारमा बसेको पार्टीले सकेसम्म सरकार नछाड्नु स्वभाविक नै हो। अझ विपक्षीले अनेक झमेला सिर्जना गरेर सरकारमा बस्ने वातावरण थप गर्दा झनै देउवा सरकारलाई सरकार छाड्ने नैतिक दबाब पनि आउने देखिँदैन। त्यसैले केपी ओली सरकारमा जानकै लागि पनि बहुमतीय प्रणाली छाड्ने मनस्थितीमा पुग्ने सम्भावना बढी देखिएको छ।

उनको यो एकल संक्रमणीयको विरोध गर्ने प्रवृत्तिप्रति ओलीकै पार्टीका पनि धेरै नेताहरु विपक्षमा देखिन्छन्। निर्वाचन भन्दा अघिदेखि नै ओलीसँगको तिक्ततालाई आफूभित्रै दबाउँदै आएका माधव नेपाल पक्षीय नेताहरु अहिले मौन रुपमा केपी ओलीको विपक्षमा मोर्चाबन्दी गरिरहेका छन्। उनीहरु पार्टी एकता गरेर बरु प्रचण्डलाई अध्यक्ष दिनै पर्ने पक्षमा देखिन्छन्।  पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै केपी ओलीलाई दिनुपर्ने बाध्यता देखिएकोले अहिले केपी ओलीलाई सकेसम्म प्रधानमन्त्री पनि बन्न नदिने पक्षमा उनीहरु छन्। महत्वपूर्ण ठाउँको मुख्यमन्त्री पनि आफैं राख्ने, संसदीय दलदेखि पार्टीका सबै पदहरुमा आफ्नो एकलौटी गर्ने ओलीको प्रवृत्तिका कारण माधव नेपाल पक्ष अहिले ओलीसँग रुष्ट देखिएका छन्। त्यसको लागि नेपाल पक्षधर राष्ट्रियसभा सम्बन्धी विधेयकमा ओलीलाई अडान लिन लगाएर ‌ओलीको सम्भावित प्रधानमन्त्री पद गुमेमा केही हर्षित हुने देखिन्छ। त्यस्तो हुन नसकेको खण्डमा केपी ओली प्रधानमन्त्री बनाएर प्रचण्डलाई अध्यक्ष दिनुपर्नेमा माधव कुमार नेपालले घुमाउरो पाराले मुख खोलिसकेका छन्।

किन प्रधानमन्त्री बनेको देख्न चाहँदैनन् नेपाल पक्ष ? 
नेपाल पक्षका नेता कार्यकर्ताहरुले चुनाव अधि पनि केपी ओलीबाट धेरै हेपिएको महशुस गरिरहेका थिए। चुनाव जित्ने निश्चित भएको क्षेत्रमा ओलीले आफ्नै पक्षका उम्मेदवारलाई जवर्जस्ती टिकट दिए। जस्तै धादिङ क्षेत्र नम्बर १ यस्तो ठाउँ हो जहाँ एमालेका उम्मेदवारहरु कसैले प्रचार-प्रसार नै नगरेपनि चुनाव जित्ने अवस्था हो। त्यस्तो स्थानमा केपी ओलीले माधव नेपाल पक्षका उम्मेदवार राजेन्द्र पाण्डेलाई प्रदेश तिर झारेर भूमि त्रिपाठीलाई टिकट दिए। सो बेलामा विद्रोह हुने देखेर पाण्डेलाई मुख्यामन्त्रीको आश्वासन दिएका ओलीले अहिले पाण्डेलाई मुख्यमन्त्री नदिने स्पष्ट संकेत दिईसकेका छन्। 

पाण्डेलाई मुख्यमन्त्रीको आशा देखाएर प्रदेश सभामा उम्मेदवारी दिन लगाएपनि मुख्यमन्त्री समेत नदिने निश्चित जस्तै भएको छ। यस्तो अवस्थामा एमालेमा नेपाल पक्षले ओली पक्षको शुभेक्षुक बन्न सक्ने अवस्था देखिँदैन। अहिले कूल प्रत्यक्ष निर्वाचित सांसद्हरु मध्ये नेपाल पक्षको भन्दा ओली पक्षका सांसद्हरु दोब्बर भन्दा बढी रहेका छन्। पार्टी अध्यक्षका हैसियतले समानुपातिक सांसद्मा पनि ओली पक्षकै संख्या धेरै रहेको छ। यस्तो अवस्थामा संसदी्य दलको नेता नेपाल पक्षले पाउने सम्भावना नै देखिँदैन। पार्टीमा एकतन्त्रीय शासन चलाउन खोज्ने ओलीसँग पार्टीभित्र खेल्न नसकेका नेपालले बाहिर प्रधानमन्त्री बन्न नसके ओलीको सेखि झर्ने सोचाईले पनि ओलीलाई सकेसम्म प्रधानमन्त्री बनाउन नेपाल पक्ष चाहँदैन। 

त्यसो त बामदेव गौतम पक्षका नेताहरु पनि ओलीप्रति रुष्ट देखिन्छन्। बामदेवले आफू निकटका किरण गुरुङलाई प्रदेश नम्बर ४ को मुख्य मन्त्री बन्न नदिने देखेपछि बामदेव पनि ओलीप्रति रुष्ट छन्। अहिले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारको सूचीमा परेका बामदेवलाई निर्वाचनमा नै पराजीत गराएर टाउको दुखाईबाट मुक्त हुने रणनीति केपी ओलीले अपनाएको आरोप ओली विरुद्ध लाग्ने गरेको छ। त्यसैले पनि माधव नेपाल र बामदेव पक्ष प्रचण्डलाई अध्यक्ष मानेर पार्टी एकता तत्काल गर्ने र ओलीलाई पार्टीभित्रै अल्पमतमा पार्ने प्रयासमा छन्। अाेली अाफै भित्रबाट जाेखिम एवं खतरामा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ