गगन थापाले पार्टी सभापतिको राजिनामा मागेको विषय मेरो नोटिसमा छैन : एन.पी.साउद
प्रकाशित २०७४ पुष ११ मंगलबार
245
Shares
काठमाडौं। नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने जिकिर गरे। उनले भने,‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्नपनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं।’
यद्धपी उनले पार्टीको अध्यक्षमा ओली बाहेक गठबन्धनमा आवद्ध शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव नेपालपनि बन्न सक्ने संभावना भएको बताए। तर अध्यक्षपनि र प्रधानमन्त्री पनि ओली नै बन्ने उनको विश्वास थियो।
आयोजित साक्षात्कारमा नवनिर्वाचित सांसद रहेका नेता पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्नेबारेपनि अहिले छलफल चलिरहेको सुनाए। उनले भने,‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्धिविधा र दुई मत छैन्।’उनले सरकार गठनपछि मात्रै पार्टी एकता हुने जनाए।
उनले भने,‘पार्टी एकता हुनेमा कुनै शंका छैन, पहिले सरकार गठन हुन्छ, अनिमात्रै हामी पार्टी एकतामा जुट्छौं।’नेता पण्डितले वाम गठबन्धनलाई जनताले विश्वास गरेर मत दिएको भन्दै जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउनेगरि अबको सरकारले काम गर्ने विश्वास दिलाए। उनले दिन गनेर सरकार गठन हुने र दिन गनेरै सरकार ढल्ने दिन अब गएको समेत दाबी गरे। उनले भने,‘अब मुलुकलाई सही दिशामा डोर्याउनेगरि स्थायी सरकार बन्छ, पाँच वर्ष ढुक्कले सरकार सञ्चालन हुन्छ, अब सरकार गिराउने र बनाउने खेलको अन्त्य भयो।’
निर्वाचन सम्पन्न भएर नयाँ जनमत आईसकेकोले कांग्रेस नेतृत्वको वर्तमान सरकारले सत्ता हस्तान्तरण गर्न ढिलाई गर्न नहुने पनि उनको भनाई थियो। ‘सरकार हस्तान्तरण गर्न धेरै ढिलाई नहोस्, यो समय धेरै नलम्बियोस् भन्ने हाम्रो कामना छ, यदि यस्तै समय लम्बिरह्यो भने कांग्रेसलाई दण्डनीय हुने अवस्था आउन सक्छ, म त्यस्तो दिन नओस् भनेर कामना गर्छु।’
उनले राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिई पूर्नविचार गर्दै पूनः पठाउनुपर्ने बताए। उनले भने,‘अध्यादेश जारी हुन्छ, तर अहिलेकै अध्यादेश जस्ताको त्यस्तै जारी हुँदैन, यसलाई वर्तमान सरकारले फिर्ता लिएर पूनः नयाँ समझदारी कायम गरेर पठाउनुपर्छ, अनि स्विकृत हुन्छ।’
नेपाली कांग्रेसका नेता एन.पी. साउदले राष्ट्रिय सभाको गठन नभईकन प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा नदिने दाबी गरेका छन्। उनले भने,‘निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन, त्यसैले हामी राष्ट्रियसभाको गठन भएपछिमात्रै सरकारबाट बाहिरिन्छौं।’
नेता साउदले सरकारले पठाएको अध्यादेश स्विकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले किन ढिलाई गरेको हो भन्ने कुरा आफूहरुले बुझ्न नसकेको समेत स्पष्ट पारे। उनले भने,‘अध्यादेश स्विकृत गर्न किन ढिलाई भैरहेको छ, हामीलाई अचम्म लागेको छ, यदि साँच्चिकै कमीकमजोरी भएको छ भने पनि हेर्ने निकाय छ नि, अदालत छ, राष्ट्रपति सम्मानित पद हो, यस्तो कुरामा अल्झिनुहुँदैन्।’
उनले अध्यादेश स्विकृत नहुँदा राष्ट्रपति कार्यालयजस्तो संस्था नै विवादमा तानिएको गुनासो पोखे। आफूहरु जनमतको सम्मान गर्ने भएकोले अल्पमतमा परिसकेकोले सरकार छोड्न आँतुर भएपनि कसलाई सरकार छोड्ने भन्दै साउदले प्रश्न समेत गरे।‘कसलाई सरकार बुझाएर जाने ? कम्तिमा राष्ट्रिय सभाको निर्वाचन त होस्, संविधान बमोजिम चल्नुपर्छ नि’–साउदले भने।
सरकार हस्तान्तरण भनेको के बाटो हिँड्दाहिँड्दै चाबी ह्याण्डओभर गरेजस्तो हो त भन्दै उनले प्रश्न समेत गरे। उनले भने,‘संसदले पूर्णता पाउनुपर्छ, हामी उचित समयको प्रतिक्षामा छौं।’गगन थापाले त पार्टी सभापति देउवालाई राजिनामा दिन दबाब दिएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘कांग्रेस पूरानो पार्टी हो, विधानबाट चल्ने पार्टी हो, विधान बाहिर गएर पनि केही हुँदैन, राजिनामा माँग्ने विषयलाई हामीले ज्यादै महत्व दिएका छैनौं।’उनले राजिनामा माँग गरेको विषय आफ्नो नोटिसमा समेत नभएको जिकिर गरे।
पूर्व मन्त्री समेत रहेका नेता साउदले निर्वाचनको समिक्षा गर्न पार्टीको केन्द्रिय कार्यसमितिको बैठक चाँडै बस्ने समेत जनाए। त्यस्तै महासमितिको बैठक समेत आवश्यक रहेकोले त्यतातर्फ आफूहरुले सोचिसकेको उनको भनाई थियो।
नेकपा माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागिमात्रै नभएकोले एमाले–माओवादी केन्द्रवीच तत्काल पार्टी एकता हुने विश्वास दिलाए।
शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने धारणा राखे। उनले भने,‘एकता हुन्छ, यसमा कुनै दुई मत छैन, एकताको लागि अहिले व्यापक छलफल भैरहेको छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं।’ एकतापछिको पार्टीको अध्यक्ष को बन्छ भनेर अहिले नै भन्न नसकिने समेत शाहीले स्पष्ट पारे।
उनले अबको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्न सक्ने समेत संभावना सुनाए। उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जना प्रधानमन्त्री बन्नुहुन्छ, अध्यक्ष प्रचण्डपनि प्रधानमन्त्री बन्ने ठूलो संभावना छ।’
कालिकोट प्रदेश सभा ‘ख’ बाट विजयी सांसद रहेका मन्त्री शाहीले राष्ट्रिय सभासम्बन्धी अध्यादेशको विवाद छिट्टै टुँग्गिने समेत विश्वास दिलाए। उनले भने,‘एकल संक्रमणीय वा बहुमतीय भन्ने विवाद छ, अब हामी वीचको बाटो अपनाएर समाधान निकाल्छौं, यो विवाद चाँडै हल हुन्छ।’
उनले आफू प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको लागि योग्य उम्मेद्धवार भएको भन्दै यसमा आफ्नो दाबी हुनु स्वभाविक रहेको टिप्पणी गरे। उनले भने,‘अब हेरौं के हुन्छ, वाम गठबन्धनमा यसबारेमा छलफल जारी छ, म पनि संभावना भएको योग्य र सक्षम उम्मेद्धवार हुँ भन्ने मेरो दाबी छ।’
राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सभाका लागि निर्वाचित सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताए।
वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए। यद्धपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मान गर्ने समेत बताए।
मुलुकमा कम्युनिष्ट शासन आयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दबदबा रहने र एकदलीय शासन लागु हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए । ‘यस्तो डर गलत सावित होस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस्।’
सुमनले राजपा र फोरम नेपालवीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुवीच एकता हुने विश्वास दिलाए। उनले भने,‘हाम्रो विचारहरु सबै मिल्छन्, हामीवीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिलेको जनमतलेपनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’
उनले राष्ट्रिय सभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भैरहेको विवादबारे टिप्पणी गर्दै भने,‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भैरहेको छ, संविधान जारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन्।’
उनले वाम गठबन्धनबाट सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने निश्चित भएकोले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रुपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए।
उनले भने,‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुनपनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, (भलै हुन सकेन), तर प्रचण्ड तुलनात्मक रुपमा ओलीभन्दा राम्रा छन्।’
त्यस्तै उनले २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने समेत जनाए। सुमनले थपे,‘म जिम्मेवारी दिईए प्रधानमन्त्री पनि चलाउन सक्छु नि, मुख्यमन्त्री मात्रै किन ? तर यस सम्बन्धमा हामी अहिले छलफलमा छौं, आवश्यक परे म जिम्मेवार वहन गर्न तयार छु।’