भक्तपुर। एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले आगमी माघ पहिलो साताभित्रै बामगठबन्धनको सरकार निर्माण हुने बताएका छन्। रफत सञ्चार क्लबमा आज (बिहीबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले सो समयसीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
उनले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी गरेका छन्। पार्टी एकिकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहेन पनि बताए।
अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तीहरु गैरकानूनी र नैतिकता विपरित रहेको उनले बताए। यो गतल काम हो उनले भने ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ।’ उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए।
जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाएका छन्। कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उनले बताए। कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए।
सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ। निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड् दिए। सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताएका छन्। उनले राजधानीका लागी भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए।