रामपुर । रामपुर यातायात व्यवसायी समिति, रामपुर, पाल्पाले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा शुरु गरेको छ ।
पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा सञ्चालन गरेको हो ।
हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस सेवा दिएको समितिले शुक्रबारदेखि रामपुर—डेढगाउँ हुँदै काठमाडौँसम्म रात्रिबस सेवासमेत सञ्चालन गर्ने यातायात व्यवसायी समितिका उपाध्यक्ष खिमबहादुर केसी (पुरुषोत्तम) ले जानकारी दिए ।
दिउँसो २ बजे रामपुर बेझाडबाट छुटेको बस पूर्व नवलपरासीको डेढगाउँ, तनहुँको भिमाद हुँदै काठमाडौँ सम्मका लागि नियमित रात्रि सेवा दिइने समितिले जनाएको छ ।
शाखा सम्पर्क काउण्टरको उद्घाटन गर्दै बुङ्दीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठले नवलपरासीको पहाडी भेगका जनताले समेत सहज सेवा पाउने हुँदा सेवा सञ्चालनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रामपुर यातायात व्यवसायी समितिले पाल्पाको रामपुरदेखि दैनिक दिवा तथा रात्रि सेवा यस क्षेत्रलगायत बुटवल, तानसेन, स्याङ्जा, तनहुँ, पोखरा र काठमाडौंसम्म दिँदै आइरहेको छ ।