हेटौंडा । खेलकुद मन्त्री तथा प्रतिनिधि सभा काठमाण्डौं १० का सांसद राजन केसीले नेपाली काँग्रेसको नेतृत्वले लिएको केही गलत निर्णयका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन् ।
काँग्रेस मकवानपुरको आयोजनामा शुक्रबार भएको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री केसीले काँग्रेस हार्नुको पहिलो कारण ठूलो दलको गठबन्धन र काँग्रेसका नेतृत्व तहका नेताको हानथाप पनि रहेको बताए । शनिवार हेटौंडा ७ गौरीटारमा रहेको रंगशाला निरीक्षण गर्न शुक्रबार साँझ हेटौंडा आईपुगेका मन्त्री केसीले मकवानपुरमा गठबन्धन नमिल्दा टेक्निकल्लीरुपमा काँग्रेस हारेको आफूले पाएको बताए ।
अहिले एमालेमा रहेको दम्भ धेरै नटिक्ने बताउँदै मन्त्री केसीले पदको लोभ नगरी जनताको सेवालाई मूख्य उद्देश्य राखी राजनीति गर्नेले कहिल्यै हार नखाने प्रष्ट पार्दै काँग्रेस चुनाव आएपछि मात्रै जुर्मुराउने कार्यको अन्त्य हुनुपर्ने बताए ।
काँग्रेसका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अथितिहरु निर्वतमान सभापति रघुरमण न्यौपाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य जिल्ला सदस्यहरु राजिव सुवेदी, अमृता थापामगर, सुशान्त श्रेष्ठ, महिला संघ, तरुण दल, नेविसंघ, तामाङ संघ, प्रेस युनियन, किसान संघका जिल्ला प्रमूख, पदाधिकारी एवं सदस्यहरुसहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।