काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउनेमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धन भित्र तिव्र छलफल सुरु भएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि एकतापछिको पार्टीको अध्यक्ष भने एमाले अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि गठबन्धनको तयारी रहेको छ।
मंगलबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकतामा जानेको भने सरकार र पार्टीको नेतृत्व फरक–फरक व्यक्तिले गर्नुपर्ने गरी सहमति कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागि नेता देवेन्द्र पौडेलले भने, ‘पार्टी एकता गर्ने हो भने पार्टी र सरकारको नेतृत्व फरक–फरक व्यक्तिले गर्ने भनेर पहिले नै सहमति कायम गर्नु पर्छ भन्ने हाम्रो अडान हो ।’ त्यसरी नै अघि बढ्ने हो ।
माओवादी नेता रामनारायण विडारीका अनुसार आजपनि दुईवटा मापदण्डमा छलफल भएको थियो । पहिलो, प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री । यदि त्यसमा सहमति भएन भने प्रचण्ड प्रधानमन्त्री र ओली नै एकतापछिको पार्टीको अध्यक्ष बन्ने रहेको छ ।
सुरुदेखि नै पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्नेबारे गठबन्धनमा चर्को चर्चा चलेको छ । सोही विवाद अनुसार अहिलेसम्म एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् ।
एमालेले तत्काल पार्टी अध्यक्षमा प्रचण्डलाई नस्विकार्ने संकेत गरेपछि माओवादी केन्द्रका शीर्ष नेताहरु झस्किएका छन् ।