'मैले काँग्रेसलाई गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्दैन भनेकै हुँ' -प्रचण्ड
आयोगले सरकार निर्माणको बाटो नबनाएकामा प्रचण्डको असन्तुष्टि
प्रकाशित २०७४ पुष १९ बुधबार
161
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बाहिर गएर प्रधानमन्त्री नबन्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पछि नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उनले भने, 'मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।'
अध्यक्ष प्रचण्डले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै 'पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन,' भने ।
पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिए । अध्यक्ष प्रचण्डले भने, 'कुनै समस्या परेर बैठक नभएको होइन ।'
पार्टी एकीकरण र शक्ति सन्तुलनका विषयमा उनले भने, 'पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ ।'
साथै उनले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गरे । 'परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो ।'
अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पारे।