arrow

पूर्व अध्यक्षहरु उद्योग वाणिज्य महासंघका ''विद्रोही'' ! 'विधान नमान्न परिषद् गठन'

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
FNCCI_OLI1.jpg

काठमाडौं । गत मंसिर २५ गते नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु एउटा नयाँ संगठन बनाएर सम्भावित प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई बधाई दिन पुगे । त्यसको अघिल्लो दिन मात्रै उनीहरुले पूर्वअध्यक्ष सुरज बैद्यको नेतृत्वमा पूर्व अध्यक्ष परिषद् भनेर एउटा संस्था पनि गठन गरेका थिए । उनीहरुले सो संस्थाको तर्फबाट केपी ओलीलाई भेटेको भोलिपल्ट नै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट गरेका छन् । तर, उनीहरुले काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई भने भेट गरेनन् । एकपटक देउवालाई भेट्न खोज्दा देउवाको समय नमिलेको र पछि समय मिल्दा उनीहरु सबै भेला नभएको बाहाना बनाएर देउवालाई भने उनीहरुले भेटेनन् । 

केपी ओलीलाई भेट्न गएका अध्यक्षहरु आफैंमा पहिलेदेखि नै एमाले निकट मानिएका पूर्व अध्यक्षहरु हुन् । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योती,प्रदिप कुमार श्रेष्ठ,रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ,कुशकुमार जोशी,सुरज बैद्य र भाष्करराज कर्णिकारले ओलीसँगको भेटमा संयुक्त हस्ताक्षर गरेर ज्ञापन पत्र पनि बुझाएका थिए । सो ज्ञापन पत्रमा उनीहरुले संक्रमणकाल अन्त्यका लागी प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । 

उनीहरुको यो भेट देखाउनको लागि शुभकामना दिने भएपनि बाम गठबन्धनसँग आफूहरु नजिक रहेको देखाउनको लागि नै यस्तो नाटक गरेको विस्तारै पुष्टि हुँदै गएको छ । पूर्व अध्यक्ष परिषद्का तिनै सदस्यहरु मध्येका एक सदस्यले नै बाम गठबन्धन र भारतसँगको सेतुको काम गरिरहेको कुरा सार्वजनिक भएसँगै त्यो परिषद्को औचित्य पनि पुष्टि हुँदै गएको छ । 

उनीहरु ओलीलाई भेट्न गएको भन्ने समाचार आएसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पूर्व अध्यक्षहरुसँग भेटघाट गर्नको लागि समय तय गरेकी थिईन् । उनले बोलाएको समयमा जम्मा ४ जना पूर्व अध्यक्षहरु सुरज बैद्य, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ र पद्म ज्योति उनको निवासमा पुगेका थिए । उनीहरुसँग अध्यक्ष राणाले पूर्वअध्यक्ष परिषद् गठनको औचित्य के हो ? भनेर प्रश्न गरेकी थिईन् । उनीहरुले अहिलेको महासंघको विधानमा आफूहरु सहमत नभएको बताएका थिए ।  

जवाफमा अध्यक्ष राणाले आवश्यकता अनुसार विधान संशोधन गर्न पनि सकिने जनाएकी थिईन् । उनीहरुले आफूहरु महासंघको समानान्तर समिति नभएको भन्दै परिषद्ले महासंघको काममा कुनै बाधा नपुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले महासंघलाई आफ्नो काममा क्रियाशिल हुन आग्रह गर्दै आवश्यक परे परिषद् सहयोग गर्न समेत तयार रहेको पनि बताएका थिए । 

यसरी अहिले बाम गठबन्धनको पक्षमा लागेर अध्यक्ष परिषद् गठन भएसँगै महासंघभित्र केही अध्यक्षहरु खुलेहाम राजनीति भित्र्याउन उद्यत रहेको पुष्टि हुन थालेको छ । महासंघकी अध्यक्ष राणालाई काँग्रेस सभापति देउवा निकट मान्ने गरिएको छ । तिनै राणालाई काममा असहयोग गर्नको लागि र बाम गठबन्धनलाई समर्थन गर्नको लागि पूर्व अध्यक्ष परिषद् गठन भएको आरोप पनि महासंघ भित्र लाग्ने गरेको छ । यो परिषद्मा पूर्वअध्यक्षहरु विनोद चौधरी, आनन्दराज मुल्मी, चण्डीराज ढकाल र पशुपति मुरारकालाई समावेश गरिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ