बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्छ : गच्छदार
प्रकाशित २०७४ पुष ३० आइतबार
150
Shares
विराटनगर । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन् ।
उनले आइतवार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरी प्रमुख र प्रदेशको अस्थायी केन्द्रबारे निर्णय हुने बताए ।
“दलहरुबीच सहमति भन्नु नै भागभण्डा हो, योग्य र राम्रो व्यक्तित्व भएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरिनेछ,” उनले भने।
दलहरुबीच सहमति कायम हुन नसकेमा वर्तमान सरकारले विधिसम्मत रुपमा प्रदेश प्रमुख तोक्ने बताउँदै उनले प्रदेश प्रमुखलाई पूर्वग्राही ढङ्गबाट अब बन्ने सरकारले हटाउन नसक्ने बताए । उनले गत शुक्रबार नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीले प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णयमा सहमति नगर्ने भनी राजीनामा दिएको हुनाले निर्णय हुन नसकेको प्रष्ट पारे।
उपप्रधानमन्त्री गच्छदारले देश संघीयतामा गइसकेको हुनाले नियमित प्रक्रियाअन्तर्गत तह मिलान गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा केही दरबन्दी सिर्जना गरेको प्रष्ट पारे। उनले प्रदेशको राजधानी सरकारले होइन प्रदेशसभाको बैठकपश्चात सभाले तोक्ने छ भने।रासस