जुम्ली ‘बुढा’हरुका दुःख : ‘डुलुवा’ व्यापारले ४५ वर्षसम्म घर खर्च मात्रै चल्यो
यमुना भण्डारी,
प्रकाशित २०७४ माघ ३ बुधबार
791
Shares
काठमाडौं । बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालत अगाडि स्वीटर बुनिरहेका थिए धनबहादुर । उनको घर, जुम्ला । सिंजा गाउँपालिका ६ का धनबहादुर रोक्का काठमाडौं आउने गरेको धेरै भयो । ओहोर–दोहोर गरिरहन्छन् उनी ।
दुई–तीन वर्ष उनी काठमाडौं आएनन् । उनीसँग ९ जनाको परिवार छ । उनी हिङ, सिलाजित, टिमुर बोकेर आएका छन् । सडकमा पसल थापेर बस्छन् । उनलाई उनको डल्लाले पनि छोड्दैन । हात खाली गर्दैनन् । स्वीटर बुनिरहन्छन् ।
दिनमा कति हुन्छ त व्यापार ? उनले भने, ‘दिनमा दुई तीन सय हुन्छ । यति नै हुन्छ भन्ने हुँदैन ।’ अनि स्वीटर व्यापार गर्न कहाँ जानु हुन्छ ? धनबहादुरले भने, ‘बसपार्कमा जुम्लीहरुकै पसल छ । त्यही बेच्छु ।’ कति रुपैँया आउँछ ? –त्यस्तै १२–१३ सय –उनले जवाफ दिए । पसलेले त्यति नै दिन्छन् ।
उनले आफुसँगै अन्य ५–७ जना साथीहरु आएको सुनाए । मंसिरमा काठमाडौं आइन्छ, उनले अगाडि भने, ‘तातो लाग्न थालेपछि जुम्ला नै फर्किन्छौँ । बीचबीचमा सामान सकिए पनि जाने गर्छौँ । यो प्राय व्यापार हेरर हुन्छ ।’ उनले हिउँदमा छोरा मान्छेहरु जुम्लामा बस्दैनन् पनि भने ।
घरका मान्छेले के गर्छन् ? उनले भने, ‘घरमा बस्ने मान्छेले खेतीपाति गर्छन् ।’ सामान कहाँबाट ल्याउनु हुन्छ ? उनले भने, ‘केही हामी आफै उत्पादन गर्छौँ, केही किनेर ल्याउँछौँ ।’ काठमाडौ वर्षमा एक पटक जाडो छल्न आइन्छ, उनले सुनाए । उनलाई अन्त भन्दा, जाडोमा काठमाडौँ आउन सजिलो लाग्छ ।
यस्तै, धनबहादुर सँगसँगै भेटिए जुम्लाकै सगुने बुढा । उनको पनि दैनिकी लगभग धनबहादुरकै जस्तै । तर, सगुनेको कथा फरक । दुवै एकै ठाउँका । कति दिन लाग्छ, जुम्लाबाट काठमाडौ आउन ? ‘दुई दिन’–उनले छोटो जवाफ दिए ।
काठमाडौं आउन २४ सय गाडि भाडा मात्रै लाग्छ । खाना, खाजाको खर्च छुट्टै । बुढाका चार छोरा, एक बुहारी, दम्पती र पाँच छोरी छन् । १२ जनाको परिवार । उनी यो डुलुवा व्यापारले फाइदा हुँदैन पनि भन्छन् । जुम्लामा चिसोले बस्न सकिँदैन, उनले भने, ‘जाडो छल्न मात्रै आएको ।’ पहिले–पहिले गर्मीमा भारत जाने गरेको बुढाले सुनाए । अहिले ६५ वर्ष पुगे, भारत जान सक्दिन, –उनले भने ।
उनले यो काम गरेको ४५ वर्ष भयो । ४५ वर्षसम्म परिवार मात्रै धान्यो यो डुलुवा व्यापारले । ओहोर–दोहोर गर्दा, घर खर्च चलाउँदैमा उमेर गयो उनको । उनी पनि स्वीटर बुन्न खुबै सिपालु । कति दिनमा बुनिसक्नु हुन्छ एउटा स्वीटर ? ‘त्यस्तै ५–७ दिनमा सकिन्छ ।’ दाम कति आउँछ, कल्ले किन्छन् ? जवाफमा उनले भने, ‘कर्मचारीले किन्छन् । भेडाको उनबाट बनेको स्वीटरलाई तीन हजारसम्म दिन्छन् ।’ उनी पढेका छैनन् । बाह्रखरी जानेको छु, –हाँस्दै उनले सुनाए । छोराहरुको व्यवहारबाट भने आजीत छन् उनी । छोराहरु आफ्नै ढंगले चल्छन्, उनले भने, ‘हामीलाई हेर्दैनन् ।’