काठमाडौं। नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा बिहिवार बसेको बैठकले निर्वाचन भएको १६ महिना वित्दा पनि तरूण दलको कार्यसमिति विस्तार गन हुन नसकेको भन्दै चाँडो विस्तार गर्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
बैठकले महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको महासचिव भुपेन्द्रजंग शाहीले बताए ।
सांस्कृतिक संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिन माग
यसैबीच नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले आफ्नो संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका सभापति तीर्थ थापासहितको टोलीले आज सभापति देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा भेटेर संघको दोस्रो अधिवेशनले पारित गरेअनुसार शुभेच्छुक संस्थाको रुपमा रहेको संघलाई भ्रातृ संस्था बनाउनुपर्ने माग गरेको हो ।
राज्यले सांस्कृतिक क्षेत्रमा दिने सम्मान, पुरस्कार, नियुक्ति, सुरक्षा र पदवीमा संघको सहभागिता दिलाउने, पार्टी संगठनका सबै तह र निकायमा संघको प्रतिनिधित्व गर्नुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रबाट संघको एकजना महाधिवेशन प्रतिनिधि आउन पाउने व्यवस्था मिलाउन माग गरेको छ । रासस