arrow

सशस्त्र भित्र सीमा सुरक्षा विभाग हटाउने चलखेल

logo
अश्रु किरण,
प्रकाशित २०७४ माघ ५ शुक्रबार
APF_news.png

काठमाडौं । सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागलाई आफ्नो संगठन संरचनाबाट हटाउने तयारी गरेको छ । संघीयतामा सशस्त्र प्रहरीको संगठन संरचना तयार पार्ने क्रममा सशस्त्र प्रहरीको महत्वपूर्ण विभागको रुपमा रहेको सीमा सुरक्षा विभाग हटाउने तयारी भईरहेको सशस्त्र मुख्यालय स्रोतले जानकारी दिएको छ । 

सशस्त्र प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार अहिले तयार भएको संगठन संरचनामा सीमा सुरक्षा विभागलाई कार्य विभागमा गाभेर त्यसै अन्तर्गत् रहनेगरी काम गर्ने तयारी गरिएको छ । सो संरचनालाई अहिले नै अन्तिम रुप दिनको लागि सशस्त्रका अधिकारीहरुसँग छलफल भने गरिएको छैन । यद्यपि अहिलेको ड्राप्टमा सीमा सुरक्षा विभागको संरचना नै संकुचित बनाईनुले समेत सशस्त्रको छवि गिराउने ती अधिकारीको आरोप छ । 

अहिले आम मानिसमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा देखाएको सक्रियता र सीमा सुरक्षा तर्फ सशस्त्रको कामलाई आम मानिसले तारिफ गर्ने गरेका छन् । समय समयमा सीमा सुरक्षाको विषयमा नेपाल र भारतका अधिकारीहरुबीच छलफल तथा अन्तक्र्रिया गर्नु, सीमामा हुने आपराधिक गतिविधि रोक्नको लागि दुईदेशीय सरोकारवाला निकायहरुबीच छलफल भईरहेको जस्ता विषयमा सीमा सुरक्षा विभागले समेत महत्वपूर्ण भूमिका खेलेको पाईन्छ । 

भारतीय सीमा सुरक्षाबल एसएसबीसँगको साझेदारीमा थोरै जनशक्तिलाई पनि व्यवस्थापन गरेर विशेषगरी सुदूर पश्चिम क्षेत्रमा भएका सीमा सुरक्षा सम्बन्धी सशस्त्रको गतिविधि उल्लेखनीय मानिन्छ । केही वर्ष अघि भएका दुईदेशीय म्याराथन दौड जस्ता गतिविधिका कारण दुईदेशीय सीमा सुरक्षा बलबीच उल्लेख्य रुपमा सहकार्य भएको थियो ।

पछिल्लो समय अन्तर देशीय सीमामा आपराधीक गतिविधि बढ्ने, सीमामा देखिएका संवेदनशीलता लगायत कारणले झनै सशस्त्रमा सीमा सुरक्षा विभाग अपरिहार्य रहेको अवस्थामा यही विभाग हटाउनु सशस्त्रको लागि गम्भीर घाटाको विषय रहेको ती अधिकारीको दाबी छ । ४ वटा विभाग रहेको सशस्त्रले विभागको नेतृत्व गर्ने एआईजीको अभाव हुने देखाएर सो विभाग हटाउन लागेको ती अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ