arrow

मुग्लिन सडक खण्डमा अब दिउँसो ६ घण्टा गाडी नचल्ने

राति गाडी रोक्दा दिउँसोलाई असर, प्रगतिमा चार गुणा कमी

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
Mugling-Narayanghat.jpeg

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि अब दिनमा ६ घण्टा सवारी रोकेर काम गरिने भएको छ ।

आउने १३ गतेदेखि एक महिना सवारी रोकेर दिनमा सडकको काम गरिने भएको छ । रातिको समयमा सवारी रोकेर काम गरिएको भए पनि प्रगति खासै नभएपछि आउने १३ गतेदेखि  बिहान १० देखि अपरान्ह ४ बजेसम्म काम गरिन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिनमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि फेरी सवारी रोकेर काम गर्न लागिएको बताए  ।

पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिदै आएको छ । पोहोर साल पनि बिहान १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम भएको थियो ।
त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिनमा सडक रोकेर काम गर्न माग गर्दै आएका थिए ।

रातिको समयमा सवारी रोकिदा त्यसको असर दिउसो पर्ने हुँदा यो  सडकखण्ड पार गर्न घण्टौ लाग्ने गरेको छ ।

जसका कारण दिनको काम पनि प्रभावित भएको छ । आयोजना प्रमुख चन्द्रनारायण यादव रातिको समयमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित हुने  भएकाले  प्रगतिमा चार गुणा कमी आएको बताउँछन् ।

रातिमा सवारी रोक्दा शून्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शून्य दशमलव २७ प्रतिशत काम भएकोले खासै प्रगति नभएको भन्दै दिनमा काम गर्न जोड दिएको यादवको भनाइ छ  ।  

यो सडक अन्र्तगत  घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी छ ।  घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम अझै बाँकी छ । अहिलेसम्म यो सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजना प्रमुख यादवको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ