राजनितिक भागवण्डामा सहमतिसँगै ३ महिनादेखिको ताला खुल्यो
सीता डोटेल,
प्रकाशित २०७४ माघ ६ शनिबार
508
Shares
पाल्पा । स्ववियु निर्वाचनको बिषयलाई लिएर ३ महिनादेखि क्याम्पस प्रमुखको कार्यकक्षामा लगाइएको ताला राजनितिक भागवण्डामा सहमति भएसँगै खुलेको छ । रामपुरमा रहेको शहिद बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको बिषयलाई लिएर बिवाद चुलिएपछि नेबिसंघले लगाएको ताला प्रशासन र बिद्यार्थी संगठनबिचको सहमति पछि खुलेको हो । क्याम्पस सञ्चालन समिति र बिद्यार्थी संगठन बिच बसेको छलफल राजनितिक भागवण्डामा स्ववियु समिति गठन गर्ने निर्णय सँगै क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला खुलेको हो ।
स्ववियु निर्वाचनका दिन एकाएक निर्वाचन नभएपछि नेबिसंघले निर्वाचन नगराउने क्याम्पस प्रमुखको राजिनामा माग गरेर बिरोधमा उत्रिएको थियो । बिरोधमा उत्रिएका बिद्यार्थीले गत कात्तिक ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । नेबिसंघको बिरोधपछि क्याम्पस प्रमुखले राजिनामा दिएपनि सञ्चालक समितिले स्वीकृत गरेको थिएन । राजिनामा स्वीकृत गर्न दवाव दिदै ताला नखोलेको नेबिसंघले जनाएको थियो । क्याम्पस सञ्चालक समिति र बिद्यार्थी संगठनको वार्ता पछि स्ववियु समितिमा नेबिसंघलाई १० सदस्य, अनेरास्ववियुलाई ५ सदस्य र अनेरास्ववियु क्रान्तिकारीलाई ३ सदस्य दिने गरि राजनितिक भागवण्डामा स्ववियु समिति गठन गर्ने सहमति बनेको क्याम्पसका अध्यक्ष तिर्थ प्रसाद पंगेनीले जानकारी दिए । स्ववियु समितिमा सभापति, सहसचिब र कोषाध्यक्ष गरि ७ सदस्य नेबिसंघलाई, सचिब सहित ४ सदस्य अनेरास्ववियु र उपसभापति सहित २ सदस्य अनेरास्ववियु क्रान्तिकारीलाई दिने सहमति बनेको छ ।
सहमतिपछि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले बुझाएको राजिनामा तथा क्याम्पस प्रमुखको राजिनामा माग पत्र फिर्ता लिने, पुर्ण कालिन प्राध्यापक तथा कर्मचारी क्याम्पस समयमा अनिवार्य सोही क्याम्पसमा उपस्थित रहने व्यबस्थापनको लागि प्रक्रिया मिलाउने र नेबिसंघले लगाएको ताला खोल्ने सहमति जुटेको नेबिसंघ इकाई सभापति दिपक अर्यालले बताए ।
साथै नेबिसंघले क्याम्पस प्रमुखको कक्षमा लामो समयदेखि ताला लगाउदा नियमित पठनपाठनमा बाधा पुगेको भन्दै पब्लिक क्याम्पस प्राध्यापक संघले बिज्ञप्ति निकाली पठनपाठन बन्द गराएकोमा अब प्राध्यापक तथा कर्मचारी नियमित उपस्थित रही पठनपाठन सुचारु गर्ने निर्णय भएको छ । क्याम्पस प्रमुखको कार्यकक्ष बन्द हुदा प्राध्यापकले बाहिर नै हाजिरीको व्यबस्था मिलाएर काम गर्दै आएका थिए ।
यसैबिच सोही छलफलले आउदो माघ २७ गते क्याम्पस सञ्चालक समितिको नयाँ समिति गठन गर्ने निर्णय लिएको छ । सहमति जुटेसँगै लामो समयदेखिको क्याम्पस प्रमुखको कक्ष बन्द हुँदा पठनपाठन र नियमित कार्यमा परेको समस्याको समाधान हुने भएको छ ।