राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : सुमन
प्रकाशित २०७४ माघ ९ मंगलबार
220
Shares
काठमाडौं । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल समूहका सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि अहिले सघन छलफल भैरहेको स्पष्ट पारेका हुन् ।
भट्टराईले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग पारस्परिक सम्बन्ध राखिने जनाए । उनले भने,‘हाम्रो दुवै छिमेकी मित्रराष्ट्रहरुसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन्, र राख्न आवश्यक पनि छैन्।’
उनले आजको युग भनेको द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भैरहेको जानकारी दिँदै भने,‘संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्धान्तमा छिमेकीहरुसँग पारस्परिक लाभका आधारमा, हाम्रो राष्ट्रको हितमा, समानताका आधारमा र अहस्तक्षेपका आधारमा सम्बन्ध विकसित गरेर अघि बढ्ने हो।’
नेपाल–भारत सम्बन्ध सबै हिसाबले गहिरो र प्रगाढ भएको उल्लेख गर्दै नेता भट्टराईले भने,‘नेपाल–भारत सम्बन्ध सबै हिसाबले सुमधुर छ, र यो निरन्तरता पनि हो, आगामी दिनमा अझै फराकिलो र गहिरो बनाएर जानुपर्छ, अहिले त्यो दिशामा हामी अघि बढिरहेका छौं।’ उनले नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत स्पष्ट पारे । ‘हाम्रो भू–भाग कसैको विपक्षमा हुनेछैन’–उनले थपे ।
आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच निर्वाचन सम्पन्न भएयता दुईपटक टेलिफोनवार्ता भएको बताउँदै उनले भने,‘निर्वाचन सम्पन्न भईसकेपछि उहाँहरुको वीचमा दोस्रोपटक टेलिफोनमा सम्वाद भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदीले नै उताबाट फोन गर्नुभएको थियो । फोनमा मोदीले नयाँ वर्ष २०१८ लागेकोमा शुभकामना आदानप्रदान, ओलीको स्वास्थ्य स्थितिबारे जानकारी राख्नुभयो । त्यसपछि उहाँले फेरि तपाईलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छौं भन्नुभयो । र, त्यही प्रधानमन्त्री नवनियुक्त भैसकेपछि भारत भ्रमणको पूनः निमन्त्रणा दोहोर्याउनुभएको छ। त्योसँगै भोलिका दिनमा सहकार्य गरेर अगाडि जाने कुरा बताउनुभयो ।’
यता एमाले अध्यक्ष ओलीले पनि नयाँ वर्षको उपलक्ष्यामा मोदीलाई शुभकामना दिएको उनले जानकारी दिए । मोदी–ओलीवीचको सम्वादबारे प्रकाश पार्दै उनले भने,‘हाम्रो अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य स्थितिको कुरा बताईदिनुभयो । त्यसपछाडि भारत भ्रमणमा आउने कुरालाई स्विकार्दै उहाँले पनि मोदीजीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभयो । र, पहिला मोदीजीको पोष्टपोन भएका दुई वटा भ्रमणहरु–एउटा जानकी मन्दिरको भ्रमण र अर्को मुक्तिनाथ जाने) उहाँको पूरानो ईच्छा, यी दुईवटा भ्रमणको व्यवस्था गरेर नेपाल भ्रमण आउनको लागि ओलीले पनि निमन्त्रणा दिनुभयो ।’
उनले राजनीतिक तहमा सबैभन्दा उच्च तहमा रहेका, निर्णायक ठाउँमा रहेका नेताहरुकावीचमा दुईवटा मुलुकको सम्बाद हुने कुराले सम्बन्ध सुमधुर बनाएर, अगाडि लिएर जाने कुरामा नै सहयोग पुर्याएको विश्वस व्यक्त गरे
उनले मोदी र ओलीवीचको पछिल्लो सम्वादसँगै नेपाल र भारतका बीचमा यो अगाडि जे–जस्ता अवस्था थियो अब त्यो भने नरहेको स्पष्ट पारे । उनले भने,‘अब हामी एउटा समझदारी बनाएर दुईवटा मुलुकले सम्बन्धलाई राम्रो बनाएर जानुपर्छ, त्यो सम्बन्धलाई राम्रो बनाएर जाँदा नै दुवै मुलुकको हित छ । र, दुवै मुलुकका चासोहरुलाई सम्बोधन हुन्छ भन्ने कुरातर्फ अघि बढिरहेका छौं ।’
आफूहरु द्धिपक्षीय सम्बन्धमा देखिएका समस्यालाई समाधान गरेर नेपाल र भारतलाई २१ औं शताब्दीको यो दोस्रो दशकको नयाँ उचाईमा लिएर जान चाहिरहेका प्रष्ट्याए । उनले अघि भने,‘त्यसका लागि प्रवुद्ध समूहको तर्फबाट हामीले त्यो अभ्यास, खासगरी विगतजस्तो तित्ततापूर्ण, समस्याग्रस्त, एकले अर्कालाई नराम्रो मान्नुपर्ने यस्तो अवस्थाबाट मुक्त होस् भन्ने त्यो उचाईबाट नेपाल र भारत सम्बन्धलाई अगाडि लैजान चाहिरहेका छौं ।’
खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र सुमधुर भएर अघि बढ्ने विश्वास दिलाए । यादवले भने,‘नेपाल–भारत सम्बन्ध अरु देशजस्तो होईन, अति विशिष्ट छ, सरकार–टु–सरकारमात्रै सम्बन्ध नभएर यो सम्बन्ध जनस्तरको सम्बन्ध हो, अझ भनौं भने यो सम्बन्ध रोटीबेटीको हो, सरकार परिवर्तन हुँदैमा सम्बन्धमा खास बदालाव आउँछ भन्ने हुँदैन्, पहिला जे-जस्तो थियो, आगामी दिनमा पनि त्यस्तै हुन्छ र रहन्छ, देउवा सरकारले अघि बढाएको सम्बन्धलाई नयाँ सरकारले निरन्तरता दिनुपछ ।’
नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री यादवले नेपाल र भारतवीच खुल्ला सिमानाहरु रहेको उल्लेख गर्दै हरेक कुराहरु दुई देशवीच मिल्ने र समानता रहेको सुनाए । उनले भने,‘हामीवीच धेरै कुराहरु मिल्छन्,खानपान, लवाईखुवाई र अन्य सामाजिक–साँस्कृतिक, धार्मिक सबै कुराहरु समानता छन्, त्यतिमात्रै नभएर देवीदेवता पनि समान छन्।’
गठबन्धनको नयाँ सरकार बन्दैमा पूर्ववर्ती सरकारले छिमेकीहरुसँग अघि सारेका र गरेका कामहरुमा कुनै प्रभाव नपर्ने उनको विश्वास थियो । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भएको सम्वादलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउँदै मन्त्री यादवले स्वागत समेत गरे । उनले भारतलाई चिढ्याएर भन्दापनि सम्बन्धलाई सुमधुर बनाएर अघि लैजानुपर्नेमा जोड दिए ।
त्यस्तै मन्त्री यादवले यही जनवरी २६ मा मनाईने ६९ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना दिए ।
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहाँसिक भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालले आफ्नो हितलाई केन्द्रमा राखेर भारत र चीनसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
नेता पौडेलले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध पञ्चशील र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा अघि बढ्ने भएकोले एक देशले अर्को देशलाई सम्मान गर्दै आपसी हित अनुसार नै अघि बढ्ने बताए ।
उनले भने,‘नेपाल र भारतवीच सामाजिक–साँस्कृतिक सम्बन्ध जो छ, क्षेत्रिय सम्बन्ध छ, त्यसलाई निरन्तरत दिनुपर्छ, द्धिपक्षीय सम्बन्धमा देखिएका सन्धिसम्झौतादेखि सिमा विवादका समस्याहरुलाई भारतीय पक्षले चासो लिएर हल गर्नुपर्छ।’
नेता पौडेलले दुई देशवीचको सम्बन्ध सुधारमा प्रयासहरु भैरहेको पनि विश्वास व्यक्त गर्दै भने,‘अहिले सम्बन्ध सुधारको लागि प्रयासहरु भैरहेका छन्, नेपालले भन्दापनि भारतीय पक्षले पहलकदमी लिँदा अझ धेरै राम्रो हुन्छ,।’
अब बन्ने नयाँ सरकारले समृद्धि, सुशासन र विकास हाँसिल गर्नको लागि दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नेगरि प्राथमिकता राख्नुपर्ने उनको भनाई थियो। आउने सरकारले संयमता अपनाउनुपर्नेमा पौडेलले जोड दिए ।
राष्ट्रिय जनता पार्टीका महामन्त्री मनिष सुमनले नेपाल–भारत सम्बन्ध सदियौंदेखि विशिष्ट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए । उनले भने,‘राज्यस्तरको सम्बन्ध भन्दापनि आपसी सम्बन्ध, खासगरी जनस्तरको सम्बन्ध जो छ, यो अति विशिष्ट छ, रगतस्तरको सम्बन्ध छ, वैवाहिक सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ।’ उनले २२ लाख नेपाली चेलीहरु भारतीयसँग र २६ लाख भारतीय चेलीहरु नेपालीसँग वैवाहिक सम्बन्धमा बाँधिएको समेत जनाए ।
यद्धपी नेता सुमनले स्वाभिमानको नाममा र राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने काम भैरहेको भन्दै त्यसमा दुःख व्यक्त गरे । उनले नेपाल–भारत सम्बन्ध दुई देशीय सम्बन्ध भन्दापनि जनस्तरको सम्बन्ध भएकोले अन्योन्याश्रित सम्बन्ध रहेको स्पष्ट पारे । उनले भने,‘त्यसैले राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अब अन्त्य गर्नुपर्छ।’
आजको भारत आर्थिक विकासको दृष्टिकोणले द्रुततर गतिमा समृद्धिको यात्रामा लम्किरहेकोले नेपालले पनि भारतबाट सोही अनुसारको आर्थिक लाभ लिन सक्नुपर्नेमा नेता सुमनले जोड दिए ।
उनले आगामी दिनमा पनि अहिलेजस्त्तै अटुट सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै ६९ औं भारतीय गणतन्त्र दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नेपाल–भारत सम्बन्ध अति सुमधुर रहेकोल आगामी दिनमा आर्थिक कुटनीतिलाई बढावा दिँदै समृद्धिको लक्ष्य हाँसिल गर्नतिर अब बन्ने सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।