काठमाडौं । सशस्त्र प्रहरीले १७ औं सशस्त्र प्रहरी दिवस मनाएको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री शेर बहादुर देउवाले ‘सत्रौं सशस्त्र प्रहरी दिवस २०७४’ को उद्घाटन गरेका थिए । प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहमा वर्षभरी देशका विभिन्न स्थानमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीहरुलार्इ सम्मान गरिएको थियो ।
समारोहमा प्रधानमन्त्री देउवाले यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषिदेव कार्कीलाई अवार्ड प्रदान गरेका छन् । उनले सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश ग्रहण गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरे ।
त्यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नुका साथै नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरे । यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै निजको एक सन्तत्तिलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।
यसवर्षको उत्कृष्ट गुल्म रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुला र उत्कृष्ट बोर्डर आउट पोष्ट घुस्की सुनसरीलाई सोही अवसरमा अर्वाड प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यमा सहयोग पु¥याउनुहुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड् बालाजुका अध्यक्ष एवं महाप्रबन्धक नन्द किशोर बस्नेतलाई सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले कदरपत्र प्रदान गरे ।
समारोहलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री देउवाले देश र जनताको सेवामा कर्तव्यरत रहँदा रहँदै बीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै कर्तव्य पालनाकै क्रममा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपाली जनताको मन मस्तिष्कमा बसिसकेको उल्लेख गरे ।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षा, विपद व्यवस्थापन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सुरक्षार्थ परिचालनदेखि हालै सम्पन्न विभिन्न चरणका निर्वाचनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भविष्यका सम्भावित सुरक्षा चुनौतीहरुलाई सामना गर्न तम्तयार रहनुपर्ने बताए।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा स्थापनाको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपाल देश र जनताप्रतिको सेवा र समपर्णका कारण जनमानसमा परिचित रहेको चर्चा गर्नुहुँदै संगठनले यस अवधिमा स्थापनाको औचित्य पुष्टि गरिसकेको उल्लेख गरे । उनले संगठनलाई आजको अवस्थासम्म ल्याइ पु¥याउन महत्वपूर्ण योगदान पु¥याउने सशस्त्र प्रहरी कर्मचारी तथा पूर्व नेतृत्ववर्ग एवं अग्रजहरुको प्रशंसा गर्नुकासाथै कर्तव्य निर्वाहको क्रममा बीरगति प्राप्त अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइते र अशक्तहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु गरी ६० जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा गत फागुनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा। कृष्णकुमार तामाङ, अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय दिवाकर के।सी। र नरेन्द्र कुमार सिंह लगायत अवकाश प्राप्त अधिकृतहरुलाई दोसल्ला र ताम्रपत्रसहित स–सम्मान विदाई गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसवअवसरमा बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरी उत्कृष्ट कार्य गर्ने ११ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै विभिन्न समयमा नेपाल सरकारबाट विभिन्न विभूषण द्वारा विभूषित ३० जना एपीएफ अधिकृत तथा जवानहरुलाई उक्त विभूषणद्वारा शुशोभित गरे ।
अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततीहरुलाई सोही अवसरमा जनही २४ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ । २०७३ सालको एसइइ परीक्षमा देशभरका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने वाहालवाला, अवकाश प्राप्त र बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका १० जना सन्ततीलाई समेत त्यसअवसरमा छात्रवृत्ति रकम प्रदान गरिएको छ ।