arrow

प्रदेश ७ मा महिला र खुलातर्फका ६ सदस्य निर्विरोध, एकल संक्रमणीय अपनाउनु परेन

वाम गठबन्धनका चार र काँग्रेसका २ सदस्य निर्विरोध

logo
प्रकाशित २०७४ माघ १० बुधबार

डोटी । प्रदेश ७ बाट ६ सदस्य निर्विरोध भएका छन् । वाम गठबन्धनको तर्फबाट चार र नेपाली कांग्रेसको तर्फबाट दुई गरी ६ जना राष्ट्रिय सभा सदस्य निर्विरोध भएका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा खुला र महिला तर्फ आवश्यक सदस्य संख्याको मात्रै उम्मेदवारी परेपछि तीन महिला र खुला सदस्यहरु निर्विरोध हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्विरोध हुनेहरुमा खुलातर्फ एमाले अछामका अध्यक्ष एवं पूर्व संविधान सभा सदस्य शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे र नेकपा माओवादी कैलाली जिल्ला इन्चार्ज हरिराम चौधरी छन् ।

यस्तै, महिलातर्फ एमाले केन्द्रीय सहरी विकास विभाग सदस्य ईन्दु कडरिया, कैलाली जिल्ला कमिटी सदस्य कमला वली र नेपाली कांग्रेसकी उम्मेदवार तथा पूर्व शिक्षिका तारादेवी भट्ट छन् ।

निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध चयनको घोषणा भने गरेको छैन । तर, आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेका कारण महिला र खुला सदस्यका लागि निर्वाचन नहुने पक्का भएको छ । प्रदेश ७ का निर्वाचन अधिकृत जयानन्द पनेरुले भने, ‘हामी १५ गते मात्रै निर्विरोध भएको घोषणा गर्छौं । यो बीचमा कसैले फिर्ता लिन सक्छ वा कसैको विरुद्धमा उजुरी पर्न सक्छ, त्यसैले अहिले नै निर्विरोध भएको घोषणा गर्न मिल्दैन ।’ निर्वाचन अायाेगले विहिबार दावी विराेध र १४ गते नामावली प्रकाशनकाे कार्यतालिका राखेकाे छ ।

महिला र खुला सदस्य निर्विरोध हुने भएपछि प्रदेश ७ मा एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएको छ । राष्ट्रिय सभा निर्वाचन सम्बन्धी ऐनमा महिला र खुला सदस्य निर्वाचित गर्न एकल संक्रमणीय मत प्रणाली अपनाउनु पर्ने उल्लेख छ । 

यस्तै, निर्वाचन अधिकृत पनेरुले दलित र अपाङ्गको वा अल्पसंख्यकको हकमा बहुमतीय मत प्रणालीमा निर्वाचन हुने बताए । दलितमा वाम गठबन्धनको तर्फबाट एमाले नेता चक्रप्रसाद स्नेही र कांग्रेसको तर्फबाट शेरीराम पार्कीको उम्मेदवारी परेको छ । अपाङ्ग तथा अल्पसंख्यकमा वाम गठबन्धनको तर्फबाट महेशकुमार महरा र कांग्रेसको तर्फबाट छत्रराज जोशीले उम्मेवारी दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ