काठमाडौं। सरकारले चितवनको बादरमुडे घटनामा मारिएका ३८ सहित अन्य २० जनालाई सहिद घोषणा गरेको छ। घटना भएको १२ वर्षपछि सरकारले ज्यान गुमाएकालाई सहीद घोषणा गरेको हो।
बिहिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले बादरमुडे घटनामा ज्यान गुमाएका र अन्य स्थानमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेको हो। मृतकहरका परिवारका लागि सरकारले उचित क्षतीपूर्ति दिने समेत निर्णय गरेको छ। सरकारको यो निर्णय वादरमुढेका पिडितलाई न्याय दिनेतर्फ प्रेरित देखिएको छ।
कानुनमन्त्री यज्ञबहादुर थापाले बादरमुडे घटनाका मृतक सहित केही अन्यलाई समेत सरकारले सहिद घोषणा गरेको जानकारी दिए।
२३ जेठ २०६२ मा चितवनको माडीस्थित बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले बम विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए। यसअघि सहिदको लिष्टमा १ सय ९० जना रहेको लिष्ट केही समय अघि मात्रै गृहमन्त्रालयले सार्वजनिक गरेको थियो ।
बैठकले सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय समेत गरेको मन्त्री थापाले जानकारी दिए। जसअनुसार प्रदेश १ को सुनसरीको धरान, प्रदेश २ को पर्साको वीरगंज, ३ को काठमाडौंको चोभार, ४ को तनहुँको दमौली, प्रदेश ५ को दाङ, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा प्रदर्शनी केन्द्र खोलिने छ।
बैठकले पूर्वी रुकुमको सदरमुकाम उत्तरगंगा नगरपालिका १२ लाई जिल्ला सदरमुकाम तोकेको छ।
यसैगरी अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक पाँच हजार रुपैयाँ भत्ता दिने, परिवार नियोजन संघको केन्द्रीय समिति विघटन गर्ने र छत्रबहादुर गिरीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्तै सार्वजनिक खरिद अनुगमन समितिका सचिव कृष्ण देवकोटाको नागरिक, पर्यटन तथा उड्डयन मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमनमा सरुवा गरिएको छ ।