रोचक हुँदै प्रदेश १ को मुख्यमन्त्री चयन : आचार्य माहोल बनाउँदै, राई भन्छन् –‘ढुक्क छु’
'शेरधनले आधार नै प्रस्तुत गरे'
प्रकाशित २०७४ माघ १३ शनिबार
609
Shares
काठमाडौं । एमाले र माओवादीको पार्टी एकता र नयाँ सरकार गठनको अभ्यास एक साथ अघि बढिरहेको छ । यद्यपि, पार्टी एकता र सरकार गठनमा प्रगति भएकोबारे स्पष्ट चित्र आइसकेको छैन ।
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन पहिले प्रारम्भिक जानकारी आएपनि स्पष्ट चित्र आउने सम्भावना न्यून छ । अहिले संयुक्त कार्यदलले प्रदेश सरकार गठन गर्दा कसले कति सिट पाउने, सभामुख उपसभामुख कसले कति पाउने लगायत विषय टुंगो लगाउने प्रयास गरिरहेको छ ।
एमाले–माओवादीबीचमा मुख्यमन्त्री कसले कति पाउने भन्ने विषय अझै टुंगो लागेको छैन । तर, आफ्नो पकड रहेका प्रदेशमा एमालेभित्रै तीब्र प्रस्तिप्रर्धा देखिएको छ ।
जसको एक उदाहरण, प्रदेश १ पनि हो । प्रदेश १ मा रोचक प्रतिस्पर्धा छ । केन्द्रीय सचिव समेत रहेका भीम आचार्य प्रदेश १ का संयोजक हुन् । बैकल्पिक पोलिटव्यूरो सदस्य शेरधन राई प्रदेश १ को सह–संयोजक ।
तर, दुवै नेताले मूख्यमन्त्रीमा दावी गरिरहेका छन् । आचार्य सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’बाट २० हजार दुई सय ११ मत ल्याए विजयी भएका हुन् ।
उनले कांग्रेस उम्मेदवार बुद्धि कटुवाललाई छ हजार दुई सय ६४ मत अन्तरले हराएका हुन् । कटुवालले १२ हजार नौ सय ४६ मत मात्रै ल्याउन सके । राई भोजपुर प्रदेशसभा ‘ख’बाट २० हजार तीन सय ३४ मत ल्याए विजयी भए । कांग्रेसका उम्मेदवार गोविन्दबहादुर कार्कीले जम्मा ७ हजार एक सय पाँच मत ल्याएका थिए । भोजपुरमा राईको यो तेस्रो जित थियो । आचार्य भन्दा राईले १ सय २३ मत बढी ल्याए ।
यि दुवै अहिले दौडाहामा छन् । आचार्य अहिले प्रदेश सभा सदस्यसँग मात्रै हैन पत्रकारहरुसँगको अनौपचारिक छलफलमा छन् । शनिबार मात्रै उनले केही पत्रकारहरुसँग भेट गरे । उनले हाम्राकुरासँग भने, ‘अनौपचारिक भेट हो । धेरै जनालाई ठाउँ सानो भएकाले बोलाउन सकिएन । तपाईहरुसँग पनि बस्नु पर्छ ।’ उनले पत्रकारसँगको अनौपचारिक भेटमा आफु मुख्यमन्त्रीको दाबेदार रहेको बताएको सुनाए ।
उनले अगाडि भने, ‘मूख्यमन्त्रीको उम्मेदवार हुँ, अहिले होइन पहिले नै भनेको हो । मूख्य कुरा अब संसदीय दलको नेता को हुन्छ भन्ने हो ।’ संसदीय दलको भने चुनाव नै हुने उनको संकेत थियो । तपाई संसदीय दलेको नेता हुनेमा विश्वस्त हो ? ‘विश्वस्त भएरै दावी गरेको हुँ’ उनको जवाफ दियो । पक्का पक्की नै कि ? जवाफमा उनले भने, ‘साथीहरुले विवेकसंगत मतदान गरे पक्का कक्की जस्तै छ ।’ उनले निर्वाचनको टिकट वितरणमा जोडेर आफूलाई लाञ्छित गरिए पनि त्यसमा सत्यता नभएको जिकिर गरेका छन् ।
संयुक्त कार्यदलले माओवादी केन्द्रसँगको सिट बाँडफाँड टुंग्याएपछि संसदीय दलको नेता चयन हुने उनले बताए ।
मूख्यमन्त्रीका दावेदार राई पनि प्रदेश सभा सदस्यसँगको भेटमा छन् । आचार्यले राजधानीमा पत्रकार भेट्दा राईले आफु विराटनगरमा रहेको सुनाए । उनले आफु निकै व्यस्त छु, पनि भने ।
उनले आफु मुख्यमन्त्री हुने लभभग पक्का भएको बताए । संसदीय दलको नेता पक्का पक्की नभई कसरी मुख्यमन्त्री पक्का होला ? जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘संसदीय दलको नेता हुने सम्भावना मात्रै होइन । बलियो भन्दा बलियो सम्भावना छ ।’ संसदीय दलको नेता हुने आधार ? ‘मुख्य आधार बहुमत सदस्यहरुलाई विश्वासमा लिन सक्छु ।’ एक प्रकारले भन्ने हो भने ढुक्क छु ।
उनले आफ्ना आधारहरु क्रमैशः भने, ‘पार्टीभित्र क्यालिफाइड छु । दुई पटक संविधान सभा सदस्य निर्वाचित भए । संवैधानिक समितिको सभापति समेत भए । सरकारको सफल मन्त्री भए ।’ योग्यता पुर्याएको छु । उनले भनेका छन्, ‘अर्को विश्वसनीय आधार हो समावेशी । समावेशीका आधारले धेरैले मलाई नै रोज्छन् ।’ संघीयता कार्यान्वयन कुरामा मात्रै नभई जनताले महसुस गर्ने गरी हुनु पर्ने भन्दै उनले त्यसका लागि समावेशी सिद्धान्तलाई छायामा पार्न नमिल्ने बताए ।
सचिव आचार्य तपाईको संयोजक हो, तपाई उहाँको प्रतिस्पर्धी कसरी ? जवाफमा उनले भने, ‘सिनिएरिटीको हिसाब पार्टी भित्र र बाहिर दुबै तिर हुन्छ । तर, झलनाथ खनाल पार्टी अध्यक्ष हुँदा केपी ओली संसदीय दलको नेता जितेको प्रसंगलाई पनि त भुल्न सकिँदैन नि !’ राईले संसदीय दलको नेता छान्न निर्वाचन नै हुने देखिएको सुनाए । प्रदेश १ को मुख्यमन्त्री को हुने ? भन्ने जिज्ञासाको उत्तर संसदीय दलको नेता चयनले दिने पक्का पक्की जस्तै छ ।