हाम्राे समर्थन कांग्रेसलाई हाेइन राधेश्यामलाई : प्रवक्ता अाचार्य (कुराकानीसहित)
प्रकाशित २०७४ माघ १४ आइतबार
428
Shares
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई नभएर राधेश्याम अधिकारीलाई समर्थन गरेको बताएका छन् । अधिकारीका बारेमा धेरै अध्ययन र छलफलपछि राष्ट्रिय सभामा अधिकारी आवश्यक पर्ने व्यक्ति भएको निष्कर्ष निकालेर समर्थन गरेको उनकाे भनाई छ । अधिकारीले भनेका छन्, 'कुनै व्यक्तिका बारेमा टिप्पणी गर्नुअघि उसका बारेमा बुझेर बोल्दा राम्रो हुन्छ ।' हामीले अाचार्यसँग संक्षिप्त कुरा गरेका छाैँ ।
० राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि तपाईंहरुको पार्टीको आलोचना सुरु भयो नि ?
– राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हाम्रो पार्टीले समर्थन गरेको छैन । अधिवक्ता राधेश्याम अधिकारीलाई हामीले व्यक्तिगत समर्थन गरेका हौं । नेपाली कांग्रेसको एजेन्डामा सहमत भएको होइन, उनीहरुसँग दीर्घकालीन सहकार्य गरेका होइनौं । सत्ताधारी दल नेपाली कांग्रेस तमाम विकृतिको जिम्मेवार पक्ष हो । विकृति राज्य सत्ता सञ्चालनको शैली, राज्य दोहनको शैलीको हामीले कडा प्रतिवाद गरेका छौं । कांग्रेसको समग्र प्रवृत्तिको हामी विपक्षमा छौं ।
त्यसो हुँदाहुँदै पनि अहिलेको परिस्थितिमा राष्ट्रियसभा निर्वाचनमा हाम्रो मतभारले आफ्नो उम्मेदवार जिताउन सक्ने अवस्था थिएन । तर, दुईवटा गठबन्धनको परिणामलाई तलमाथि पार्न सक्थ्यौं । हाम्रो पार्टीले प्रतिपक्षी बेन्चलाई नै सबल बनाउने, तर उहाँहरुले भनेको उम्मेदवार होइन, हामीले रोजेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हौं ।
० तपाईंहरुले रोजेको व्यक्ति भ्रष्टाचारकाे सजाय पाएकालाई उम्मेदवार बन्न दिनुपर्छ भनि ऐनमा संशाेधन हाल्ने व्यक्ति होइन ?
– सञ्चारमाध्यमले व्यक्तिलाई ट्राइल गर्नु सरासर गलत हो । हामीले राधेश्याम अधिकारीको नाममा सहमति जनाउनुभन्दा पहिला उहाँका बारेमा पर्याप्त सूचना लिएका थियौं । उहाँले भ्रष्टाचारीलाई बोकेर हिडेका हुन कि कानुनविद्को हैसियतले विधिशास्त्रको सैद्धान्तिक अडान थियो भन्ने कुरामा हामीले धेरैसँग राय परामर्श लिएका हौं । एउटा अपराधका लागि दुई पटक सजाय हुन्न भन्ने विधिशास्त्रको सैद्धान्तिक अडान हो भन्ने हामीले निष्कर्ष निकाल्यौं । यद्यपि उहाँको त्यो अभिव्यक्तिको हामी विपक्षमै छौं ।
कुनै पनि व्यक्तिका बारेमा हचुवाको भरमा एउटा अखवार अथवा अनलाइन सोसलमिडियाका आधारमा राधेश्यामले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्छ भन्ने सैद्धान्तिक अडानलाई भ्रष्टाचारीलाई बोकेर हिड्यो भन्नु गलत हो ।
० कांग्रेसलाई नै भोट हाल्नुपर्ने बाध्यता ?
– परम्परागत हाम्रो राजनीति असहिष्णु छ । हामीले अभ्यास गर्दै आएको ३० वर्षको यो दलीय राजनीतिमा राम्रो काम गरेको भए पनि अर्को दलको व्यक्तिको विरोध गर्नैपर्ने । मिडिया र सार्वजनिक बहसमा पनि यी कुरा त्रुटीपूर्ण रहेको छ । विवेकशील साझा पार्टीले सुसंस्कृत राजनीति भनेको छ । यदि राष्ट्रहित, असल र विकास समृद्धिका कुरामा आफ्नो पार्टीभन्दा फरक दल वा दलका नेताले असल काम गरेका छन् भने त्यसको प्रशंसा गर्न लाज मान्नुपर्दैन । यो हाम्रो पार्टीको नीति नै हो ।