arrow

गठबन्धनका यी नेता जो एकीकरणपछि पनि प्रभावशाली हुँदैछन् 

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
bam_gathabandhan.jpg

काठमाडौँ । अहिलेसम्म नेतृत्वको पेरिफेरिमा रहेर काम गरिरहेका माओवादीका नेताहरु र एमालेका नेताहरुमा यतिबेला अब आफूहरु छायामा पर्ने पिरलो सुरु भएको छ । अहिले नेतृत्वको दाहिने हात बनेर काम गरेका नेताहरुमा आफ्ना प्रतिस्पर्धीले आफूलार्इ जित्ने हो कि भन्ने पिरलो सुरु भएको हो । 

अहिले पार्टी एकीकरण हुँदा दुबै तर्फका झण्डै एक दर्जन नेताहरु छायाँमा पर्ने भएका छन् । जो अहिलेसम्म नेतृत्वको मूल सहयोगी बनेर काम गरिरहेका थिए । यही समस्याका कारण बेलाबेलामा उब्जिने गरेका यावत किसिमका शंका उपशंकाहरु चिर्ने प्रयासमा नेताहरु लागेको भएपनि व्यवस्थापनमा आफूहरुको सम्मानजनक स्थान नपाउने देखेपछि दोस्रो तहका नेताहरु नै बाम एकताप्रति असन्तुष्ट बनेका हुन् । 

तर अहिले दुई बाम पार्टीबीच एकता भएपछिको नेतृत्वको पहिलो घेरामा को को बन्छन् भन्ने चर्चा सुरु भएको छ । मूल नेतृत्वमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड नै रहने भएकोले उनीहरु निकट रहेका नेताहरु नै नेतृत्वको मूल पंक्तिमा रहने अनुमान गरिएको छ । अहिलेको पार्टी एकता संयोजन समितिमा रहेका नेताहरु पनि केही हदसम्म प्रभावशाली रहने अनुमान गरिएको भएपनि यस घेरामा समितिका केही सदस्यको ठाउँमा अरु नै मान्छे आउने सम्भावना बढी देखिन्छ । अहिले समितिमा एमालेको तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । 

यस मध्ये शंकर पोखरेल प्रदेश नं ५ को मुख्यमन्त्री बन्नको लागि गईसकेकोले उनी अहिले केन्द्रीय नेतृत्वमा रहेर काम गर्न सक्ने पक्षमा देखिँदैनन् । त्यस्तै अर्का नेता पाण्डे पनि माधव नेपाल पक्षका नेता भएकोले उनी पनि नेतृत्वमा रहन सक्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा एमालेबाट यी दुईको साँटो ईश्वर पोखरेल र विष्णु पौडल नेतृत्वको पहिलो घेरामा आउने सम्भावना देखिएको छ । 

त्यस्तै, माओवादीबाट समितिमा गएका नेताहरु वर्षमान पुन, रामबहादुर थापा बादल र मातृका यादव छन् । उनीहरु मध्ये पनि वर्षमान पुन र बादल पछि मातृका यादव भन्दा पनि नारायणकाजी श्रेष्ठ प्रचण्डको नजिक मानिएका छन् । माओवादीका कृष्णबहादुर महरा अहिले एकता प्रक्रियाप्रति असन्तुष्ट रहेकोले उनलाई पनि व्यवस्थापन गर्नको लागि केही महत्वपूर्ण जिम्मेवारी दिन सकिने पनि देखिएको छ ।  

दोस्रो तहका नेताहरुमा कडा प्रतिस्पर्धा 
बाम गठबन्धनमा अहिले सबैभन्दा समस्या भनेको दुबै दलका नेताहरुलाई सम्मानजनक व्यवस्थापनको लागि हो । अहिले मूल समस्या भनेको नै एकतापछि कुन् दलका कुन् नेताहरु नेतृत्वको पहिलो घेरामा बस्ने भन्नेमा चलिरहेको छ । सबैभन्दा माथि दुबै पार्टीका अध्यक्षहरु छन् । त्यससँगै एमाले वरिष्ठ नेताहरुको स्थान हुनसक्छ । तर, त्यसपछि भने कुन् नेतालाई राख्ने भन्ने विषयमा यतिबेला एमाले र माओवादी नेतृत्व भित्र पनि चर्को असन्तुष्टि चुलिएको छ । 

माओवादीका नेता कृष्णबहादुर महरा लगायतका नेताहरु यस अघि नै असन्तुष्ट छन् । उनीसँगै वर्षमान पुन पनि एकताको खुलेर विरोधमा लाग्न नसकेपछि यसबाट खुशी छैनन् । नारायणकाजी र जनार्दन शर्मा खेमाका नेताहरु यसका लागि खुलेर लागेको भएपनि महरा र पुन पक्षीय नेताहरु यसमा स्पष्ट विपक्षमा छन् । उनीहरु अर्कै खेमाका नेताहरुको सक्रियतामा भएको हुनाले पनि बरु यो एकीकरण नभएकै ठीक भन्नेमा रहेको माओवादी केन्द्रका एकता प्रक्रिया प्रति असन्तुष्ट नेताले जानकारी दिए । 

अर्को तर्फ एमालेमा पनि नेतृत्वको नजिक को बन्ने भन्नेमा दोस्रो तहका नेताहरु चिन्तित छन् । यतिबेला केपी ओलीको सबैभन्दा निकट रहेर काम गरेका नेताहरु ईश्वर पोखरेल, सुभास चन्द्र नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराई जस्ता नेताहरुलाई एकीकृत पार्टीमा के के जिम्मेवारीमा राख्ने भन्ने विषयमा अहिले एमालेभित्र नै भद्रगोल स्थिती सुरु भएको छ । अहिलेका सबै ओलीका सहयोगीहरुलाई पहिलो घेरामा राख्न सम्भव पनि छैन । यस्तो स्थितीमा ईश्वर पोखरेल लगायतका नेताहरु समेत बढी चिन्तित हुने गरेका छन् । आफू पहिलो घेरामा नपर्ने हो भने बरु पार्टी एकीकरण नै नभए राम्रो भन्ने पक्षमा उनीहरु उभिने गरेका छन् ।  

यस्तो स्थितीमा अहिले एमालेका नेताहरु पहिलो घेरामा पर्नको लागि एकले अर्कालाई सिध्याउने खेलोमा लागेको समेत एमालेभित्र आरोप प्रत्यारोप हुने गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेल जस्ता सक्षम नेताहरुले बाम गठबन्धनमा सम्मानजनक पद खोजेका छन् । तर, माओवादीलाई पनि ४० प्रतिशतको हिस्सा दिनै पर्ने भएकोले माओवादीका नेताहरुलाई पनि कहाँ व्यवस्थापन गर्ने भन्ने सवालमा बहस चल्न थालेको हो। 

कुनै नेतालाई काखी च्याप्दा सोही खेमाको अर्का नेता विद्रोही बन्ने हो कि भन्ने डर एमाले देखिएको छ । यसरी आफूलाई भनेजस्तो पद र जिम्मेवारी नपाउने सम्भावना देखेका नेताहरु भने बरु बाम गठबन्धन नै नहोस् भनेर आफ्नो भूमिकालाई गौण बनाउन थालेका छन् । उनीहरुले अब फर्किने ठाउँ नरहेको भन्ने अभिव्यक्ति दिएको भएपनि बाम एकीकरण नभएसम्म हुन्छ नै भनेर यकीन गर्न सकिने अवस्था देखिँदैन ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ