सामाजिक परिचालकको जुलुसमा प्रहरीद्वारा लाठीचार्ज, १५ बढी पक्राउ
प्रकाशित २०७४ माघ १७ बुधबार
526
Shares
काठमाडौं । मंसिर १४ गते सरकारले खालीहात विदा गर्ने निर्णय गरेपछि आन्दोलित भएका सामाजिक परिचालकको जुलुसमाथि प्रहरीले बल प्रयोग गरेको छ । काठमाडौंको बिजुलीबजार नजिकै जुलुसमा प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् भने थुप्रै पक्राउ परेका छन् ।
आन्दोलनको संयोजन गरिरहेकी मनिसा विमलीले हाम्राकुरालाई भनिन्, ‘हाम्रो १५–१६ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उहाँहरुलाई कता लगियो भन्ने जानकारी समेत हामीलाई दिइएको छैन ।’ सिंहदरबार वृत्तका डीएसपीले नै हातहालेर हाम्राे एक महिला साथीकाे पाेते छिनाइदिनु भएछ, उनले भनिन्, 'त्याे तस्वीर लिन खाेज्ने अनलाइन पत्रकारकाे माेबाइल समेत डीएसपीले खाेसेछन् ।' मंसिर १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामाजिक परिचालकहरुको कार्य सम्पादनको मूल्यांकन गर्दै सम्मानका साथ विदा गर्ने निर्णय गरेको थियो ।
सरकारको यो निर्णयकाविरुद्ध सामाजिक परिचालकहरु सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले स्थानीय निकायमा विगत ९ वर्ष सामाजिक परिचालन गरेको मूल्याङ्कन नभएको भन्दै सरकारी निर्णयको निरन्तर विरोध गरिरहेका छन् भनेस्थानीय तहमा योग्यता र उमेरको हदबन्दी नलगाई कर्मचारीसँगै समायोजन गर्न माग गरेका छन् । उनीहरुले सडक अान्दाेलन थालेकाे १८ दिन वितेपनि सरकारले कुनै प्रतिक्रिया दिएकाे छैन ।
यस्तै, उनीहरुले तत्काल काम दिन समेत भनेका छन् । सरकारले विभिन्न मुलुकको सहयोगमा सञ्चालन भएको एलजीसिडीपी कार्यक्रम सकिएपछि सामाजिक परिचालकलाई राख्न नसकिएको भन्दै ससम्मान विदा गर्ने भनेको थियो ।