पूर्वराजाको भारत यात्रा सोमबारदेखि, यस्तो छ कार्यक्रम, के हो त मिसन ?
प्रकाशित २०७४ माघ २१ आइतबार
551
Shares
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्कदै छन्। उनी ओडिसामा रहेको जगन्नाथपुरी दर्शनका लागि भारत जान लागेका हुन्।उनलाई त्यहाँका शंकराचार्यले विशेष अनुरोध गरी दर्शनका लागि मुख्य अतिथिका रुपमा राजी गराएका हुन्। पूर्वराजा यसअघि गत पुसको तेस्रो साता पनि भारत गएका थिए।
कुन माध्यमबाट जाँदैछन् भारत ?
पूर्वराजा शाह उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष आग्रहमा पुसको तेस्रो साता लखनउ गएका थिए। त्यही बेला शंकराचार्यले निम्तो दिएका थिए। विशेष आग्रहपछि आदित्यनाथले पनि जोडबल गरेका थिए। त्यसकै कारण पूर्वराजा ओडिसा जान लागेका हुन्।
के छ कार्यक्रम ?
पूर्वराजा सोमबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमानबाट कोलकाता जानेछन् ।
सोमबार कोलकातामै रहने छन् । मंगलबार पनि उनी कोलकातामै रहने छन् । बुधबारसमेत उनी कोलकातामै रहने छन् ।
तीन दिनसम्म कोलकातामै रहेर कुनै राजनीतिक छलफल वा भेट नहुने बुझिन्छ । शाहकी फुपु नलिनी उत्तराञ्चलमा रहेकाले भेट हुन सक्ने बुझिएको छ ।
बिहीबार भने पूर्वराजाले गौशाला डब्लु डब्लु डब्लु काउको उद्घाटन गर्ने कार्यक्रम छ । यसमा हरेक राज्यका राजामहाराजाहरुसमेत सहभागी हुनेछन् ।
पुर्वराजाले त्यहाँ वौद्धिक वर्गसंग लञ्चसमेत गर्ने कार्यक्रम छ । यहाँ विशेष राजनीतिक छलफलसमेत हुने बताइन्छ ।
माघ २६ गते बिहिबार मात्र पूर्वराजा शाह जहाजमा भुवनेश्वर गएर जगन्नाथ पुरी दर्शन गर्न जाने कार्यक्रम छ । जनन्नाथ पुरीको कार्यक्रम शुक्रबार र शनिबार रहेको छ ।
एकहप्ता बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने जनाइएको छ ।
के हो त मिसन ?
नेपालमा अब कम्युनिष्ट सरकार बन्दैछ। गणतन्त्रमा पनि राजसंस्था स्थायित्व रहने विभिन्न अन्तर्राष्ट्रिय उदाहरणसहितका आवाज आउन थालेपछि अहिले पूर्वराजाको सक्रियता बढेको हो। पूर्वराजालाई एमाले अध्यक्ष केपी ओलीले पनि आश्वस्त पारेको बताइन्छ। भूमिका कसरी दिने र कस्तो प्रकारको दिने भन्नेबारे छलफलमै रहे पनि पूर्वराजसंस्थालाई स्पेश दिन तयार भएको बताइन्छ।
नेपाललाई हिन्दू राज्य बनाउनका लागि पनि भारतीय वर्तमान सरकार कस्सिएर लागेको बुझिएको छ। भारतीय सरकारले अहिले राजसंस्था व्युँताउन पनि अनेक किसिमका खेलहरु खेलिरहेको बुझिन्छ। संघीयताको सकस र यसले निम्त्याउने सकारात्मक भन्दा नकारात्मक सन्देश छर्दै राजसंस्थालाई ठाउँ दिन खोजिएको बताइन्छ। पूर्वराजाको यो भ्रमण कत्तिको फलदायी होला यसको छिनोफानो भोलिका दिनले गर्ने नै छन्।