को हुन् प्रचण्डले भनेको पार्टी एकीकरण विथोल्ने विदेशी शक्ति ?
प्रकाशित २०७४ माघ २१ आइतबार
271
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आईतबार देशीविदेशी शक्तिहरुले बाम एकीकरण विथोल्न खोजीरहेको आरोप लगाएका छन् । आफ्नै विद्यार्थी संघ अखिल क्रान्तिकारीले दाहाललाई पार्टी एकताको लागि दबाब दिने उद्देश्यले उनकै निवासमा भेटको लागि पुग्दा उनले यस्तो जवाफ फर्काएका हुन् । अध्यक्ष प्रचण्डले अहिले देशी विदेशी शक्तिहरुलाई सुस्मा स्वराजको भ्रमणले अझ शंका उपशंका गर्ने वातावरण बनाईदिएको भन्दै आफूहरुले एकिकरणमा आउने पुल भत्काईसकेकोले यसबाट अब फर्किने बाटो नरहेको स्पष्ट पारेका थिए ।
प्रचण्डको यही अभिव्यक्ति धेरै पटक दोहोरिँदै आएको छ । सुस्मा स्वराज आएकै दिन पनि प्रचण्डले यही विषय र यस्तै अभिव्यक्ति काभ्रेमा पुगेर दिएका थिए । त्यतिबेला उनले धुलिखेलमा एमाले र माओवादी केन्द्रको एकतामा कुनै शंका नगर्न आग्रह गर्दै बाम सरकार जसरी पनि बन्ने र लोकतान्त्रिक पद्धतिलाई सुहाउने तर कठोर ऐन बनाएर वामपन्थी सरकारले छाडातन्त्रको अन्त्य गर्ने ठोकुवा गरेका थिए ।
प्रचण्डको पछिल्लो अभिव्यक्तिले उनी जसरी पनि बाम एकताको पक्षमा रहेपनि एकता नहुनेमा उनी नै सशंकित छन् भन्ने कुरा धेरै हदसम्म पुष्टि भएको छ । उनले देशी विदेशी शक्तिले बाम एकता भाड्न लागिरहेको भनिरहँदा देशी भन्दा पनि विदेशी शक्ति भनेको को हो भन्नेतिर भने धेरैको चासो हुन थालेको छ ।
गत शुक्रबार प्रचण्डको भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग पनि भेट भएको छ। स्वराजसँगको भेटका क्रममा के के कुरा भयो भन्ने कुरा प्रचण्ड या त सुस्मा स्वराजले नै नबोलेसम्म त्यो पुष्टि हुने वाला छैन । किनकी त्यो नित्तान्त उनीहरु दुईको मात्रै एकल संवादको विषय हो ।
तर, स्वराजलाई भेटेपछि प्रचण्डको यो अभिव्यक्तिले गर्दा कतै स्वराज र उनीबीचको वार्ता सकारात्मक हुन नसकेको त होईन भन्ने विषय समेत बाहिर आउन थालेको छ । उनले भनेको देशी शक्तिभित्र माओवादी र एमाले बाहेकका अरु पार्टी होलान् । तर विदेशी शक्ति भन्नेले उनले कुन देशलाई ईंकित गर्दैछन् ? त्यो प्रष्ट छैन। सधैंभरी नेपालमा हस्तक्षेप गर्ने भनेर आरोप लाग्ने गरेको मुलुकको विदेशमन्त्रीसँग नै एक घण्टासम्म वार्ता भएको प्रचण्डले एकता भाँडन लागेको भनेर लगाएको आरोप भारतप्रति नै सोझिएको हो कि अन्तैतिर हो प्रश्न प्रचण्डतिर नै सोझिएको छ। आखिर को हो त एकता भाड्न खोज्नेहरु?
भारत बाहेक प्रचण्डले भनेको विदेशी शक्तिमा चीन, अमेरिका र युरोपियन युनियन मध्ये कसले बाम गठबन्धन फुटाउनको लागि भूमिका खेलिरहेको छ त ? यो विषय धेरैलाई जिज्ञासाको विषय बनेको छ । त्यसैले प्रचण्डको यो अभिव्यक्ति र पछिल्ला उनका एउटै दोहोरिएको अभिव्यक्तिले उनी समेत बाम एकताप्रति सशंकित छन् कि भन्ने भान पर्न थालेको छ । के उनले आफ्ना पार्टी पंतिलाई यो बारेमा सहि कुरा बताउन सक्लान?