नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
प्रकाशित २०७४ फागुन १२ शनिबार
440
Shares
काठमाडौं। नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट यहाँ शुरु भएको छ। हरेक तीन महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ। नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ।
बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धमा छलफल भई प्रारम्भिक मस्यौदाको काम शुरु भएको भनिएको छ। यस समूहले नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नेपाल र भारत सरकारलाई दिनेछ।
समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, परराष्ट्रविद् डा राजन भट्टराई, संविधानविद् नीलाम्बर आचार्य र कानूनविद् सूर्यनाथ उपाध्याय सदस्य रहनुभएको छ।
त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ। रासस