' शितल निवासको राष्ट्रपति नारायणहिटीको राजाको मनोविज्ञानमा '
प्रकाशित २०७४ फागुन १२ शनिबार
422
Shares
काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सभाको लागि मन्त्रिपरिषदबाट निर्णय गराई सिफारिस गरेका ३ नामलाई उल्टाइ प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेका तीन नामलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि शितल निवास र नेपाली काँग्रेसको सम्वन्ध चिसिएको छ।
देउवा नेतृत्वको सरकारले सिफारिस गरेका ३ जनाले राष्ट्रपति कार्यालय र सरकार समेतलाई विपक्षी बनाइ अदालतमा मुद्धा समेत दायर गरेका छन्। राष्ट्रपतिको कदमलाई लिएर अदालतमा चुनौति दिइएको छ भने सडकमा समेत राष्ट्रपतिको विरुद्ध आवाज उठ्न थालेको छ।
नेपाली काँग्रेसले राष्ट्रपतिलाई अलग अलग चस्मा लगाएर दलहरुलाई व्यवहार गर्न लागेको आरोप लगाएको छ। नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु सडकमा ओर्लिएका छन्। संविधानको व्यवास्ता गरिएको भन्दै उनलाई संविधान पढ्नका लागि उपहार पठाइएको छ।
जाडो मौसम सकिएर गर्मी बढ्दै जाँदा शितल निवास काँग्रेसप्रति गरम देखिदा काँग्रेस पनि शितल निवासप्रति रुष्ट छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन, ' शितल निवास शितल मनोविज्ञानबाट हैन नारायणहिटीमा कुनै बेला वास बस्ने राजाको मनोविज्ञानबाट ग्रसित छ। '
काँग्रेस प्रवक्ता शर्माको यो भनाइले शितल निवासका मुखिया एकातिर राजाको भुमिकामा देखिन खोजेका छन भने अर्कातिर दल विशेषलाई अलग अलग चस्माले हेर्न खोजेको काँग्रेसको बुझाइ छ। शर्मा भन्छन, ' नत्र देउवाले बुझाएको सिफारिस ६ दिन अल्मल्याएर ओलीले दिएको सिफारिस ६ घण्टामा कसरी कार्यान्वयन हुनसक्छ ?'
नेकपा एमाले तथा यसका अध्यक्ष केपी शर्मा ओली शुरु देखिनै विपक्षी रहित राष्ट्रिय सभा बनाउन उद्यत रहेको उल्लेख गर्दै शर्माले अब एमालेले कुन र कस्तो खालको लोकतन्त्रको अभ्यास गर्छ भनि प्रश्न गरे। राष्ट्रिय सभामा एकल संक्रमणीय मतको आधारमा चुनाव हुने भएपछि दुई तिहाइको लोभमा रहेको एमालेले दुई तिहाइ जसरी पनि पुरा गर्नैको लागि राष्ट्रपतिलाई प्रभावमा पारेर देउवा सरकारको सिफारिस अनुमोदन हुन नदिएको दावी गरे।
राष्ट्रिय सभाको ३ सांसदको लागि भएको यो विवादले एकातिर राष्ट्रपति संस्था विवादमा तानिएको छ भने अर्कातिर सत्तारुढ गठवन्धन र विपक्षी दलबीच संविधान कार्यान्वयनको शुरुदेखिनै खराव सम्वन्ध हुने देखिएको छ।