३१ सालदेखिका प्रचण्डका सहयात्री गृहमन्त्री बादल को हुन् ?
रमेश लम्साल,
प्रकाशित २०७४ फागुन १४ सोमबार
500
Shares
काठमाडौँ । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका छन् । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को सहकार्य र पार्टी एकताको समेत सेतुका रुपमा परिचित थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै आए ।
जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ । पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताउने गरिएको छ ।
पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा आज मात्रै सो पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका थिए।
पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गरेका छन्। विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ । माक्र्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लागेका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए । विसं २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बनेका थापा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रुपमा परिचित थिए ।
अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित भए । बृहत् वाम एकता र सहकार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आएका नेता थापा पछिल्लो पटक एमाले र माओवादी केन्द्रको एकताको एक सूत्राधारका रुपमा परिचित छन् । पछिल्लो पटक प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट निर्वाचित थापा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य छन् । विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत उहाँले जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गरेका नेता थापाले जनताको अपेक्षानुसार शान्ति सुरक्षा प्रदान गर्ने र सुरक्षा निकायलाई जनताप्रति जवाफदेही बनाउने बताएका छन् । रासस