फोरमको ध्यान ओलीतिर, वाम गठबन्धको ध्यान होलीतिर, त्यसै टर्याे वार्ता
'फुर्सद भए भेटौँ शनिबार'
प्रकाशित २०७४ फागुन १७ बिहिबार
350
Shares
काठमाडौं । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच विहीबार भएको वार्तामा संविधान संसोधनमा लगभग सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा संविधान संसोधनका वारेमा लगभग सहमति जुटेको दुबैतर्फका नेताहरुले बताएका छन् ।
तर, सरकारमा सहभागि हुने विषय र मन्त्रालय बाँडफाँडमा भने कुरा मिलेन । फोरमले तीन मन्त्रालय माग गरेको र गठबन्धन दुई मन्त्रालय दिनेसम्म पुगेको छ, भनियो ।
वाम गठबन्धनले दुई मन्त्रालयको प्रस्ताव गरेपछि फोरमका नेताहरु पार्टी आन्तरिक छलफल गरेर आउन भन्दै बाहिरिए । अब दुवै दलका नेताहरुले पार्टीभित्र आन्तरिक कुरा गरेर शनिबार मात्रै भेट्ने भनेका छन् ।
कुरा कहाँ अड्कियो ? फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘कुरा कहिँ अड्किएको पनि छैन अघि बढेको पनि छैन ।’ किन बैठकमा जानु भएन र ? जवाफमा उनले भने, ‘पार्टीबाट मै त गएको त थिए नि ! होली भएकाले खासै कुरा हुन पाएन । सबैलाई होलीले छोयो । अनि, आ–आफ्नो पार्टीमा छलफल गरेर शनिबार भेट्ने कुरा भयो ।’
उनले संविधानको धारा २७४ लगायत आफुहरुले भनेका धेरै कुराको सहमति नजिक पुगेको बताए । तर, मन्त्रालय कति दिने र कति लिने भन्नेबारे कुरै भएनन भन्छन्, श्रेष्ठ । किन भएन बाहिर तपाईहरुले तीन मन्त्रालय माग्नु भो, वाम गठबन्धन २ मन्त्रालय दिनेसम्म पुगेको कुरा आइसकेको छ, हामीलाई ढाँट्या हो ? पछि उनले कुरा फेर जवाफ दिए, ‘म सहभागि भएको बैठकमा मन्त्रालयको कुरा भएको छैन । अध्यक्ष ज्यूहरुको तहका कुरा भएको होला । म सहभागि भएको बैठकमा मन्त्रालयबारे कुरै भएको छैन ।’अनि अहिलेसम्म भयो के त ? जवाफमा उनले भनेका छन् , ‘संविधान संशोधनमा अब समस्या छैन । अन्य केही कुरा मिल्न बाँकि छ । मन्त्रालयको कुरा भएको छैन । अहिलेलाई यत्ति भनौँ ।’
बैठकमा सहभागि अर्का नेता रामसहाय यादवले पनि कुरा त्यस्तै गरे । उनले त झन् कुरा बल्ल सुरु भएको भने । वुधबारबाट त कुरा सुरु भयो । राति अबेर भएकाले वुधबार धेरै कुरा भएन, ‘विहिबार (आज) होली भएर सबैजनाको ध्यान होलीतिरै भयो धेरै कुरा भएन । छलफल जारी छ ।’ यादव पनि मन्त्रालयको कुरा भएन भन्छन् । पहिले संविधान संशोधनको कुरा टुंगिन्छ, उनले भने, ‘त्यसपछि मात्रै बाँकी कुराहरु आउँछन् । अन्य कुरा मिलेपछि अनि मन्त्रालयको कुरा हुने हो ।’ शनिबार धेरै कुरा टुंगिन सक्छ ।
प्रधानमनत्री केपी ओलीको फोरमलाई ल्याउने इच्छाले सरकार विस्तामा ढिलाई भइरहेको छ । फोरमले परराष्ट्र मन्त्रालयसहितका तीन मन्त्रालय माग भनिन्छ । एमले नेताहरु पनि ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, भनिरहेका छन् । तर, कुरा के भएको हो र कहाँ पुग्यो दुबैतिरका नेताले प्रष्ट भन्दैनन् । तर, संविधान संशोधन औचित्यका आधारले गर्ने भन्ने वाम गठबन्धनको भाषा र मन्त्रालय भन्दा पनि संविधान संशोधन अहम कुरा भन्ने फोरमको भाषाले कुरा मन्त्रालय बाँडफाँटमै अड्किएको भन्ने गुञ्जायस आइरहेको छ ।