बुद्ध जन्मिएको प्रमाण पेस गरियो, तर लुम्बिनीमा बस्दैनन् पर्यटक
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २२ मंगलबार
100
Shares
बुटवल । लुम्बिनीमा पर्यटकको बसाई लम्बाउने विषयमा निकै चर्चा भए । तर, अहिलेसम्म ठोस काम हुन सकेका छैनन् । पर्यटकलाई भुलाउने भौतिक संरचनाहरू निर्माण नहुँदासम्म बसाई नलम्बिने धेरैको भनाई छ ।
पर्यटकलाई लोभ्याउनका लागि पर्यटन व्यवसायीले नै काम शुरु गर्नुपर्छ । पर्यटकहरू मनोरञ्जनका लागि घुम्न आउँछन् । लुम्बिनी आउने पर्यटकहरूमध्ये केही पर्यटकहरू मनोरञ्जन खोज्छन । तर, त्यसको व्यवस्थापन लुम्बिनी क्षेत्र आसपासमा छैन । होटलहरू सुविधायुक्त छैनन् ।
सांस्कृतिक र धार्मिक क्षेत्रको गरिमा बढ्ने गरी संरचना बनाउन पनि आवश्यक छ । तर अहिलेसम्म त्यसो हुन सकेको छैन । लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदहको प्रचार र विकास हुन आवश्यक रहेको छ ।
प्रमुख पर्यटकीय क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । स्थल मार्ग र हवाई मार्ग हुदै सन् २०१७ मा जम्मा १ लाख ४५ हजार ७ सय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा ९ हजार पर्यटक बढेपनि यो सन्तोषजनक नभएको पर्यटन व्यवसायीहरू बताउँछन् । यस वर्ष लुम्बिनीमा हुने महत्वपूर्ण पूजा ‘मोन्लम’ नभएकाले पर्यटकको आवागमनका केही कमी आएको हो । मोन्लम पुजामा करिब २० हजार तेस्रो मुलुकका पर्यटकहरू आउने गरेका थिए । यस वर्ष सो पुजा भारतको बोधगयामा भएको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार भारतीय पर्यटकको संख्या भने बढेको छ । ‘सन् २०१६ को तुलनामा तीन वर्गका पर्यटकको संख्या बढेको छ । नेपाली, भारतीय र पासपोर्ट बोकेका पर्यटक झण्डै १६ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।’
सन् २०१७ मा १ लाख ५५ हजार ४ सय ४४ भारतीयले लुम्बिनीमा भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषले तेस्रो मुलुकका पर्यटकको संख्या टिकटको आधारमा र अन्यको भ्रमण पुस्तिकाका आधारमा निकाल्ने गरेको छ । २०१६ मा १ लाख ३४ हजार २ सय भारतीय लुम्बिनी आएका थिए ।
लुम्बिनी भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या भने निकै बढेको छ । एकै वर्षमा सवा दुई लाख आन्तरिक पर्यटकको बृद्धि भएको हो । सन् २०१६ मा १० लाख १५ हजार १ सय ५० नेपाली लुम्बिनी पुगेका थिए । भने सन् २०१७ मा १२ लाख ५१ हजार ३ सय ४६ आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरे ।
पर्यटकहरूका लागि स्तरीय होटल, खर्च गर्नका लागि स्थान अभावका कारण लुम्बिनी आउने पर्यटकहरू निकैे छोटो अवधी मात्रै बस्ने गरेका छन् । लुम्बिनी तथा बुटवल, भैरहवा क्षेत्रका पर्यटन व्यवसायीहरू तेस्रो मुलुकभन्दा भारतीय पर्यटकलाई स्वागत गर्न बढी आतुर देखिन्छन् ।
पाँच तारे टाइगर प्यालेस रिसोर्टका सञ्चालक नवराज बजगाईले लुम्बिनी आसपासमा भारतीय पर्यटक मात्रै ल्याउदा नेपालले धेरै फाइदा लिन सक्ने बताउछन् । ‘नेपालमा खर्च गर्ने पर्यटककोे खाचो छ । लुम्बिनीमा रोटि राखेको टिफिन बोकेर आउने पर्यटकले आर्थिक उर्पाजन हुदैन, उनले भने ।
झण्डै चार दशकअघि केञ्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना छिटो कार्यान्वयन गरी जापानी प्रोफेसर डा. क्वाकले बनाएको गुरुयोजना कार्यान्वयनमा सरकार लाग्नुपर्ने पर्यटन व्यवसायीको भनाई छ । लुम्बिनी गुरुयोजना पूरा भए कम्तिमा एक दिन लुम्बिनीमा पर्यटक बस्न सक्ने अपेक्षा छ ।
लुम्बिनीसंगै तिलौराकोट, देवदह र रामग्रामको विकास आवश्यक रहे पनि त्यसो हुन सकेको छैन् । संस्कृतिविद् डा. गितु गिरीले बौद्ध संस्कृतिको अवलोकन गर्न आउने पर्यटकलाई पनि यही रात बिताउने गरी टुर प्याकेज बनाउनु पर्ने बताउँछन् ।
अहिले तेस्रो मुलुकबाट आउने पर्यटकहरू अधिकांश भारतीय गाइड मार्फत करिव एक घण्टाका लागि मात्रै लुम्बिनी आउने गरेका छन् । लुम्बिनीलाई पोखरा र सौराहासंग हवाई मार्गबाट जोड्ने सके पनि पर्यटकको संख्या बढ्न सक्ने पर्यटन व्यवसायीहरू बताउछन् ।
ठूला लगानीका होटलहरू लुम्बिनी क्षेत्रमा सञ्चालनमा आएकाले केही पर्यटकलाई तान्न सक्ने अपेक्षा गरिएको छ । ‘हामीले मात्रै वार्षिक कम्तिमा एक लाख पर्यटकलाई सेवा दिने अपेक्षा राखेका छौं । यहा खर्च गर्न आउने पर्यटकका कारण अरू संख्या पनि बढ्न सक्छ, टाइगर प्यालेसका सञ्चालक बजगाईले भने ।
लुम्बिनी क्षेत्रलाई पर्यटन उद्योगका रूपमा विकास गर्ने खाका सरकारले बताए पर्यटकको संख्या दोब्बरको दरले बृद्धि हुने पर्यटन व्यवसायीको दावि छ ।त्यसका लागि यस क्षेत्रमा अर्गानिक कृषि उत्पादन, विमानस्थल, स्तरीय बसपार्क, सडक सहजता आवश्यक रहेको उनीहरूको भनाई छ । पर्यटन गुरुयोजना बनाएर दीर्घकालीन सोचबाट काम गर्नुपर्ने बजगाईले बताए ।
नाकाबाट आउने बढेको बढ्दै
जनवरी महिनामा नेपाल भम्रण आउने पर्यटक २६ प्रतिशतले बृद्धि भएको छ । स्थलनाका भैरहवाको बेलहिया हँुदै सन् २०१८ को जनवरीमा बिदेशी पर्यटकको संख्या बृद्धि भएको हो । अध्यागमन कार्यालय बेलहिया रूपन्देहीको तथ्यांक अनुसार जनवरी महिनामा बेलहिया नाकाबाट १२ हजार ९ सय ९६ पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २६ प्रतिशतले बृद्धि हो । गत बर्षको जनवरी महिनामा १० हजार २ सय ७६ पर्यटक यो नाका हुँदै नेपाल आएका थिए । यो तथ्यांक भारतीय पर्यटक बाहेकको हो ।
सम्भवतः जनवरीमा पर्यटक आगमन उच्च रहेको यो पहिलो पटक हो । सन् २०१३ को जनवरीमा १० हजार ७ सय २४, सन् २०१४ को जनवरीमा ६ हजार ७ सय ७८, २०१५ को जनवरीमा ९ हजार ६ सय ३१ र २०१६ मा १० हजार १ सय पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए ।
चालु बर्षको जनवरीमा सबैभन्दा बढी थाई पर्यटक नेपाल आएका छन् । कार्यलयको तथ्यांक अनुसार थाई ४ हजार ५ सय ९८, म्यान्मार (बर्मा)का ३ हजार ५ सय १४, दक्षिण कोरियाका २ हजार ३७, चिनका ५ सय ८, भियतनामका २ सय ८४, अमेरिकाका २ सय ४४, ताइवान र अष्ट्रेलियाका १७४÷१७४, जापानका १ सय ४१, इण्डोनेशियाका १ सय १३ जना गरी १ सय २६ मुलुकका पर्यटक स्थल नाका हँुदै नेपाल आएका छन् । स्थल नाका हँुदै नेपाल आउने पर्यटकको मुख्य गन्तब्य बुद्धजन्मस्थल लुम्बिनी हो । बुद्धिस्ट मुलुक थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, चीन जापानलगायतका मुलुकका पर्यटकको मुख्य गन्तब्य लुम्बिनी हो । अन्य युरोपियन तथा अमेरिकन मुलुकका पर्यटक मध्ये केही लुम्बिनी जाने गरे पनि धेरै सोझै काठमाण्डौं, पोखरा, चितवन, मुस्ताङतर्फ जाने गर्दछन् ।