पोखरा। पोखरामा उद्योगपति, साहित्यकार, समाजसेवी, कलाकार, खेलाडी, पत्रकार लगायतका समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका १०० जना व्यक्तित्व छनौट गरी उनीहरूलाई लायन्स इन्टरनेशनल स्थापनाको १०० वर्ष पूरा भएका अवसरमा नागरिक अभिनन्दन एवम् रथारोहण गरिएको छ। लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका करिब १०० जना व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिएको हो।
लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ को आयोजनामा सम्मानित व्यक्तित्वलाई पोखराको सभागृहचोकबाट रथारोहण गराई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै प्रर्दशनी केन्द्र नयाँ बजारमा नागरिक अभिनन्दन गरिएको हो। विशिष्ट व्यक्तिलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लायन्सका विभिन्न व्यक्तित्वहरुले अभिनन्दन गरे।
कार्यक्रममा उपराष्ट्रपति पुनले राष्ट्रमा तीनवटै तहको निर्वाचन सम्पन्न भैसकेका कारण संविधान कार्यान्वयनले सुखद् पूर्णता पाउन लागेको बताए।देश राजनीतिक स्थिरता तर्फ उन्मुख बनेको बताउँदै उनले अब देश आर्थिक समृद्धिको मार्गमा जाने विश्वास व्यक्त गरे। आर्थिक समृद्धिको मार्गमा देश बढ्ने बताउँदै उनले प्रत्येक नेपालीको सामाजिक आर्थिक रुपान्तरण आवश्यक भएको उल्लेख गरे। लायन्सले मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पर्यावरणका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए।
नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पुर्याएको डिष्ट्रिक गभर्नर धनराज आचार्यले बताए।